रौतहट –
विज्ञान र प्रविधिले ठूलो फड्को मारिसकेको २१औँ शताब्दीमा पनि मधेस प्रदेशका ग्रामीण भेगमा विद्यमान अन्धविश्वासका कारण कलिला बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्था कायमै छ। रौतहटमा सर्पले टोकेका सात वर्षीय बालकलाई तत्काल अस्पताल लैजानुको सट्टा झाँक्रीकहाँ लगेर झारफुक गराउँदा उनको मृत्यु भएको छ।
रौतहटको गुजरा नगरपालिका–७ का लालबाबु रामका सात वर्षीय छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ बजे विषालु सर्पले टोकेको थियो। सर्पले टोकेको थाहा पाएपछि परिवारले बालकलाई तत्काल स्वास्थ्य संस्थामा लैजानुको सट्टा गाउँकै झाँक्रीकहाँ पुर्याएर झारफुक गराएका थिए।
झाँक्रीकहाँ झारफुक गराइरहेकै क्रममा बालकको अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई चन्द्रपुरस्थित सरकारी अस्पताल पुर्याएका थिए। तर अस्पताल पुग्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
सर्पदंशपछि समयमै उपचार नपाउँदा बालकको ज्यान गएको यो घटनाले मधेस प्रदेशका ग्रामीण क्षेत्रमा अझै कायम रहेको अन्धविश्वास र स्वास्थ्यसम्बन्धी गलत धारणाको गम्भीर अवस्था उजागर गरेको छ। विषालु सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय बिताउँदा विष शरीरमा फैलिने र बिरामीको अवस्था केही समयमै गम्भीर बन्न सक्ने चिकित्सकहरू बताउँछन्।
झारफुकबाट सर्पको विषको असर कम हुने वा निको हुने वैज्ञानिक प्रमाण छैन। तर ग्रामीण क्षेत्रमा सर्पदंशलाई अझै पनि झारफुकबाट उपचार गर्न सकिन्छ भन्ने गलत विश्वासका कारण कतिपय पीडितलाई अस्पताल पुर्याउन ढिलाइ हुने गरेको छ। उपचारमा हुने यही ढिलाइ कतिपय अवस्थामा मृत्युको मुख्य कारण बन्ने गरेको छ।
विशेषगरी वर्षायाममा खेतबारी, घरआँगन तथा ग्रामीण क्षेत्रमा सर्पको गतिविधि बढ्ने भएकाले सर्पदंशको जोखिम पनि बढ्छ। यस्तो अवस्थामा सर्पले टोकेको शंका लाग्नेबित्तिकै बिरामीलाई झारफुकमा अल्झाउनुको सट्टा सकेसम्म छिटो सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा पुर्याउन आवश्यक हुन्छ।
गुजरा नगरपालिका–७ को घटनाले ग्रामीण समुदायमा सर्पदंशसम्बन्धी जनचेतना विस्तार गर्नुपर्ने आवश्यकता झनै बढाएको छ। स्थानीय तह, स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा समुदायका अगुवाले झारफुकजस्ता अन्धविश्वास हटाउँदै सर्पदंशको वैज्ञानिक उपचारबारे व्यापक जनचेतना फैलाउन सके यस्ता अकाल मृत्यु रोक्न सकिने देखिन्छ।
एउटा कलिलो बालकले समयमै उपचार नपाउँदा ज्यान गुमाएको यो घटनाले सर्पदंशमा झारफुक होइन, तत्काल उपचार नै जीवन बचाउने पहिलो उपाय हो भन्ने सन्देश दिएको छ।











