सिरहा –
सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीमा मध्यराति विद्युत्को तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय भनुवा मण्डलको घरमा आज बिहान करिब १ बजे अचानक आगलागी भएको हो। आगलागीमा घरमा भण्डारण गरेर राखिएको धान, चामल, गहुँ, खाद्यान्न, केही नगद, प्लाइ, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएको पीडित मण्डलले बताए।
आगलागी भएको थाहा पाएलगत्तै स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरेका थिए। त्यसपछि गोलबजार नगरपालिकाको दमकल घटनास्थलमा पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
समयमै आगो नियन्त्रणमा लिइएकाले घरको अन्य भागमा आगो फैलिनबाट जोगिएको स्थानीयले बताएका छन्।
वडा नम्बर ९ का अध्यक्ष विनोद यादवले प्रारम्भिक जानकारीअनुसार विद्युत्को तार सर्ट भएर आगलागी भएको बताए। उनका अनुसार आगलागीबाट घरमा राखिएका खाद्यान्नसहित ठूलो मात्रामा सामग्री नष्ट भएको छ।
पीडित मण्डलका अनुसार रातिको समयमा अचानक आगलागी भएकाले घरभित्र रहेका अधिकांश सामान निकाल्न सकिएन। आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली घटनास्थलमा पुगेर मुचुल्का तथा क्षतिको विवरण संकलन गरेको छ। प्रहरीले प्रारम्भिक रूपमा विद्युत्को तार सर्ट भएर आगलागी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












