काठमाडौं –
पेरुको दक्षिणी क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उद्धार तथा क्षतिको विवरण संकलनलाई तीव्र पारिएको छ। भूकम्पमा कम्तीमा दुई जना घाइते भएका छन् भने दर्जनौँ संरचनामा क्षति पुगेको अधिकारीहरूले जनाएका छन्।
स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको भूकम्पले आयाकुचो र कुस्कोका विभिन्न जिल्लामा प्रभाव पारेको थियो। अधिकारीहरूका अनुसार यी क्षेत्रमा रहेका २२ वटा घर, छ वटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति पुगेको छ।
भूकम्पको केन्द्रविन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचो सहरबाट करिब ३८ किलोमिटर उत्तर–पश्चिममा रहेको थियो। भूकम्पको गहिराइ ६६.७ किलोमिटर मापन गरिएको छ।
भूकम्पको धक्का दक्षिणी पेरुका इका, अरेकिपालगायतका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी क्षतिको विवरण संकलन र आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको छ।
पुकियो, पुयो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारीलगायतका सहर तथा आसपासका क्षेत्रमा पनि भूकम्पको प्रभाव परेको छ। अधिकारीहरूले प्रभावित संरचनाको अवस्था जाँच गर्नुका साथै थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइरहेका छन्।
पेरु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्पीय गतिविधि उच्च रहने गरेको छ। यसअघि सन् २००७ मा इका क्षेत्रमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा करिब ६०० जनाको मृत्यु भएको थियो।












