जनकपुर-
जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान आजदेखि सुरु हुने भएको छ। लामो समयदेखि अतिक्रमणमा परेका गुठीका जग्गा तथा पोखरी संरक्षण गर्ने उद्देश्यले गुठी संस्थानले डोजर परिचालन गरी अतिक्रमण हटाउन लागेको हो।
गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाले पहिलो चरणमा पहिचान गरिएका अतिक्रमित पोखरीका डिल खाली गराउन डोजर चलाइने जानकारी दिए। उनका अनुसार अतिक्रमित स्थान खाली गर्न गत साउन १ गते नै सार्वजनिक सूचना जारी गरिएको थियो।
शुक्रबार अतिक्रमित जग्गा आफैँ खाली गर्न आग्रह गर्दै माइकिङसमेत गरिएको छ। तोकिएको समयसम्म अतिक्रमित संरचना तथा सामग्री नहटाए डोजर प्रयोग गरी हटाइने गुठी संस्थानले जनाएको छ।
पहिलो चरणमा पहिचान गरिएका ५० वटा अतिक्रमित पोखरीमध्ये सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने तयारी गरिएको छ। त्यसपछि अन्य पोखरी, मन्दिर परिसर र गुठीका थप जग्गा अतिक्रमणमुक्त गराउने योजना रहेको छ।
अतिक्रमण हटाउने कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गा अतिक्रमणमुक्त गराउने गरी प्राथमिकता निर्धारण गरिएको समितिका सदस्यसचिव जनक पोखरेलले जानकारी दिए।
अभियानअन्तर्गत शनिबारदेखि गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन डोजर परिचालन गरिने भएको छ।
गुठीका जग्गा तथा ऐतिहासिक पोखरी अतिक्रमणको चपेटामा पर्दै गएपछि संरक्षणका लागि दबाब बढ्दै आएको थियो। संस्थानले सुरु गरेको अभियानलाई प्रभावकारी बनाउन अतिक्रमणको यकिन विवरण सार्वजनिक गर्ने, अतिक्रमित क्षेत्र खाली गराउने र पुनः अतिक्रमण हुन नदिने व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।












