२०८३ भाद्र ६ गते, शनिबार १३:०१

युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

क्रिभी रिह –

युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोनबाट दुई चरणमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्। घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। आक्रमणपछि भत्किएका संरचनाको भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको आक्रमणलाई ‘अत्यन्त निन्दनीय’ भन्दै घटनामा दुई चरणमा ड्रोन आक्रमण भएको बताएका छन्। उनका अनुसार पहिलो आक्रमणपछि उद्धार तथा राहतकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटिरहेका बेला दोस्रो ड्रोनले त्यही क्षेत्रमा आक्रमण गरेको थियो।

बीबीसीले प्रमाणित गरेको भिडियोमा आगलागी भइरहेको सपिङ मलमा दोस्रो ड्रोन ठोक्किएको देखिएको जनाएको छ। रुसी सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

डिनिप्रोपेत्रोभ्स्क क्षेत्रका प्रमुख ओलेक्सान्द्र हान्जाले आक्रमणमा मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरेका छन्। उद्धार तथा राहत कार्यका लागि युक्रेनका अन्य चार क्षेत्रबाट थप टोली घटनास्थलतर्फ पठाइएको छ।

यसअघि राजधानी किभमा एकै दिन भएको रुसी मिसाइल तथा ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको थियो। लगातार भइरहेका हवाई आक्रमणका घटनाले युक्रेनमा सर्वसाधारणमाथिको मानवीय जोखिम थप गम्भीर बन्दै गएको देखिएको छ।सि.एन.एन

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस