२०८३ भाद्र ८ गते, सोमबार ११:४७

भारतमा बढ्दो स्वाइन फ्लुले नेपालमा पनि जोखिम बढायो, सीमा क्षेत्रमा निगरानी र सावधानी आवश्यक

वीरगन्ज –

भारतमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि यसको प्रत्यक्ष असर नेपालमा समेत पर्न सक्ने जोखिम बढेको छ। विशेषगरी भारतसँग खुला सीमा जोडिएका मधेस प्रदेशका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा मानिसको आवतजावत हुने भएकाले संक्रमण भित्रिन नदिन स्वास्थ्य निगरानी र जनचेतनालाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

भारतको दिल्लीसहित कम्तीमा ६ राज्यमा एच१एन१ संक्रमण फैलिएको छ। राष्ट्रिय राजधानी दिल्लीमा यस वर्ष हालसम्म १ हजार ७७७ जनामा एच१एन१ संक्रमण पुष्टि भएको छ। गत वर्ष सोही अवधिमा २२९ संक्रमित भेटिएकामा यस वर्ष सङ्ख्या करिब आठ गुणाले बढेको भारतीय सञ्चारमाध्यमहरुले बजनाएका छन् ।

भारतमा संक्रमण बढेपछि विभिन्न राज्यले स्वास्थ्य सतर्कता जारी गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उत्तर प्रदेशमा ३३७, हरियाणामा ११९ र पञ्जाबमा ९३ जनामा संक्रमण पुष्टि भएको छ। महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म ३०९ जनामा एच१एन१ संक्रमण पुष्टि भएको छ।

नेपालका लागि भारतमा बढ्दो संक्रमणको सबैभन्दा ठूलो जोखिम सीमापार आवतजावत हो। नेपाल–भारतबीच खुला सीमा रहेकाले दैनिक काम, व्यापार, उपचार, अध्ययन तथा अन्य प्रयोजनका लागि मानिसहरू ओहोरदोहोर गर्ने गर्छन्। भारतका सीमावर्ती क्षेत्रमा संक्रमण बढ्दै गएमा संक्रमित व्यक्ति नेपाल प्रवेश गर्दा भाइरस समुदायस्तरमा फैलिन सक्ने सम्भावना रहन्छ।

विशेषगरी वीरगन्ज, जनकपुरधाम, गौर, मलंगवा, भैरहवा, नेपालगन्ज र विराटनगरजस्ता भारतसँग प्रत्यक्ष आवतजावत हुने प्रमुख नाकामा मौसमी इन्फ्लुएन्जाको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। सीमामा सबै यात्रुको अनिवार्य परीक्षण व्यावहारिक नहुन सक्ने भए पनि ज्वरो, खोकी, घाँटी दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने तथा अत्यधिक थकानजस्ता लक्षण भएका व्यक्तिलाई स्वास्थ्य परीक्षण तथा परामर्शको व्यवस्था गर्न सकिन्छ।

नयाँ भाइरस नभएको आईसीएमआरको भनाइ

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले हाल फैलिरहेको एच१एन१ नयाँ प्रकारको भाइरस नभएको जनाएको छ। परिषद्का अनुसार यो भाइरस सन् २०२५ देखि नै भारतमा रहेको छ र निरन्तर निगरानी भइरहेको छ।

संक्रमण बढेपछि भारतीय केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले अवस्थाको समीक्षा गर्दै रोगको निगरानी, परीक्षण, अस्पतालको तयारी तथा संक्रमितको समयमै उपचारमा जोड दिएका छन्। राज्यहरूलाई निगरानी बढाउन र गम्भीर बिरामीको शीघ्र पहिचान गर्न निर्देशन दिइएको छ।

दिल्लीमा मात्रै यस वर्ष इन्फ्लुएन्जा–ए का २ हजार ३९२ संक्रमित भेटिएका छन्। तीमध्ये १ हजार ७७७ जनामा एच१एन१ पुष्टि भएको हो। अगस्ट २० मा मात्रै दिल्लीमा ११४ नयाँ संक्रमित भेटिएका थिए।

नेपालले के तयारी गर्नुपर्छ ?

भारतमा संक्रमण बढिरहेका बेला नेपालले सीमावर्ती क्षेत्रमा मौसमी इन्फ्लुएन्जाको निगरानी, परीक्षण र उपचार क्षमता बढाउनुपर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ। विशेषगरी भारतबाट फर्किएका वा नियमित आवतजावत गर्ने व्यक्तिमा फ्लुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा परीक्षण तथा चिकित्सकीय परामर्श लिन प्रोत्साहित गर्न आवश्यक छ।

नेपालका अस्पताल तथा स्वास्थ्य संस्थाले पनि एच१एन१सहित मौसमी इन्फ्लुएन्जाका बिरामीको पहिचान, परीक्षण र उपचारका लागि आवश्यक औषधि, उपकरण तथा जनशक्तिको तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ। गम्भीर बिरामीका लागि अस्पतालमा आवश्यक शय्या र उपचार व्यवस्थासमेत सुनिश्चित गर्नुपर्ने हुन्छ।

यससँगै सीमावर्ती स्थानीय तह र स्वास्थ्य कार्यालयले भारतमा संक्रमणको अवस्थाबारे नियमित सूचना संकलन गरी जोखिमको अवस्था मूल्याङ्कन गर्नुपर्ने देखिन्छ।

संक्रमणबाट कसरी जोगिने ?

एच१एन१ श्वासप्रश्वासका माध्यमबाट फैलिन सक्ने भएकाले व्यक्तिगत सावधानी संक्रमण रोकथामको महत्वपूर्ण उपाय हो। यसका लागि सर्वसाधारणले नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुख छोप्ने, बिरामीसँग नजिकको सम्पर्कबाट बच्ने र भीडभाडमा आवश्यक सावधानी अपनाउने गर्नुपर्छ।

रुघाखोकी, ज्वरो वा अन्य फ्लुका लक्षण देखिएमा घरमै आराम गर्ने र अरू व्यक्तिको सम्पर्कमा जाँदा सावधानी अपनाउने गर्नुपर्छ। लक्षण गम्भीर हुँदै गएमा चिकित्सकको परामर्श लिनुपर्छ। विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला तथा दीर्घरोग भएका व्यक्तिले फ्लुका लक्षणलाई बेवास्ता गर्नु हुँदैन।

सास फेर्न गाह्रो हुने, छाती दुख्ने, अत्यधिक कमजोरी हुने, ओठ वा अनुहार नीलो देखिने, लामो समयसम्म उच्च ज्वरो रहनेजस्ता गम्भीर लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा उपचारका लागि पुग्न आवश्यक हुन्छ।

‘सतर्कता आवश्यक, तर त्रास होइन’

विश्व स्वास्थ्य संगठनकी पूर्वमुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले हाल देखिएको संक्रमण मनसुनका कारण फैलिने मौसमी इन्फ्लुएन्जा भएको बताएकी छन्। निगरानी र परीक्षण बढेकाले संक्रमितको सङ्ख्या बढी देखिन सक्ने भए पनि उच्च जोखिममा रहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

भारतमा संक्रमण बढ्दै गए पनि नयाँ प्रकारको भाइरस फैलिएको प्रमाण नरहेको भारतीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्। त्यसैले नेपालमा पनि अनावश्यक त्रास फैलाउनु भन्दा सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने र सर्वसाधारणलाई संक्रमणबाट जोगिने व्यवहारबारे सचेत बनाउने रणनीति प्रभावकारी हुने देखिन्छ।

भारतसँगको खुला सीमा र ठूलो जनआवागमनका कारण नेपाल संक्रमणको जोखिमबाट पूर्ण रूपमा अलग रहन नसक्ने भएकाले अहिलेबाटै सावधानी अपनाउनु आवश्यक छ। विशेषगरी मधेस प्रदेशका सीमावर्ती जिल्लामा स्वास्थ्य निगरानी र जनचेतना अभियानलाई प्रभावकारी बनाउनु स्वाइन फ्लुको सम्भावित विस्तार रोक्ने महत्वपूर्ण उपाय बन्न सक्छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस