२०८३ भाद्र ९ गते, मंगलवार १०:५९

चितवनका पशु चौपायामा रेबिज संक्रमण पुष्टि

चितवन –

पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायामा रेबिज संक्रमण पुष्टि भएको छ। नगर क्षेत्रका पशुमा रेबिजका लक्षण देखिएपछि गरिएको परीक्षणमा रत्ननगर–९ र १० का पशुमा संक्रमण पुष्टि भएको हो।

पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रेबिज संक्रमण पुष्टि भएको हो। रेबिज संक्रमित गाईभैँसीले र्‍याल काढ्ने, टाउको भित्तामा ठोक्ने, मानिस वा अन्य जनावरलाई टोक्न खोज्ने, पानी तथा घाँस खान नखोज्ने, दूध उत्पादन घट्ने र अन्ततः मर्ने जस्ता लक्षण देखाउने गर्छन्।

कुकुर र बिरालामा रेबिजविरुद्धको खोप लगाउने गरिए पनि अन्य पशु चौपायामा नियमित रूपमा खोप लगाउने प्रचलन कम रहेको डा. न्यौपानेले बताए। संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा पालिएका पशु चौपायालाई रेबिजविरुद्धको खोप लगाउन थालिएको छ।

रेबिज ‘लाइसा’ नामक भाइरसका कारण लाग्ने रोग हो। जिल्लाका अन्य स्थानीय तहमा समेत संक्रमण फैलिन सक्ने सम्भावना रहेको भन्दै डा. न्यौपानेले पशुपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार नगरपालिकाका विभिन्न वडामा पालिएका पशुमा रेबिजको संक्रमण देखिएको छ। पशुको नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको छ।

उनका अनुसार चालु आर्थिक वर्षमा रत्ननगरमा चारवटा नमूना सङ्कलन गरिएको छ। तीमध्ये दुईवटामा रेबिज संक्रमण पुष्टि भइसकेको छ भने अन्य दुईवटा नमूना परीक्षणका लागि पठाउने तयारी गरिएको छ। पशु मरेपछि मात्रै नमूना सङ्कलन गरी परीक्षणका लागि पठाउने गरिएको उनले बताइन्।

रेबिजका लक्षण देखिएको नौदेखि १० दिनभित्र संक्रमित पशु मर्ने गरेको चिकित्सक राजभण्डारीले जानकारी दिइन्। रत्ननगरका वडा नम्बर ९, १० र १६ मा रेबिज संक्रमण देखिएको छ। न्याउरी मुसा तथा स्यालको टोकाइबाट पशुमा संक्रमण सरेको हुनसक्ने उनको अनुमान छ।

संक्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा जोखिममा रहेका मानिसलाई रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार सेवा दिन थालिएको उनले जानकारी दिइन्।

कुकुर तथा जङ्गली जनावरको टोकाइबाट मानिस र पशुमा सर्न सक्ने रेबिज घातक रोग भएकाले जङ्गल आसपासका क्षेत्रमा बसोबास गर्ने तथा पशुपालन गर्ने किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पशुमा असामान्य व्यवहार वा रेबिजका लक्षण देखिए तत्काल सम्बन्धित पशु स्वास्थ्य निकायलाई खबर गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

रेबिज लागेको शङ्का भएको जनावरले टोकेको वा चिथोरेको अवस्थामा घाउलाई तुरुन्तै कम्तीमा १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुनुपर्छ। त्यसपछि चिकित्सकको सल्लाहअनुसार तत्काल रेबिजविरुद्धको खोप लगाउनुपर्ने चिकित्सक राजभण्डारीले बताइन्।

उनका अनुसार घरपालुवा कुकुर तथा बिरालालाई नियमित रूपमा हरेक वर्ष रेबिजविरुद्धको खोप लगाउनुपर्छ। शङ्कास्पद वा असामान्य व्यवहार देखाउने पशुलाई अन्य जनावर तथा मानिसबाट टाढा सुरक्षित स्थानमा राख्नसमेत उनले आग्रह गरेकी छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस