वीरगन्ज –
बारामा जिपको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।
कलैया उपमहानगरपालिका-२३ स्थित कलैया-वीरगन्ज सडकखण्डमा बुधबार राति करिब सवा ९ बजे वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२–२३ वर्षीय युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।
तर, उपचारकै क्रममा राति करिब साढे १० बजे युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडक दुर्घटनामा ज्यान गुमाएका युवकको पहिचानसमेत खुल्न नसकेपछि प्रहरीले उनको परिचय खुलाउने प्रयास गरिरहेको जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।












