२०८३ भाद्र २६ गते, शुक्रबार १२:१०

ग्यासको संकटबीच साहको परीक्षा : यादवले छाडेको कुर्सी सम्हाल्दै, समस्या समाधान गर्लान् त दीपक साह ?

वीरगन्ज –

सरकार गठन भएको छ महिना नपुग्दै दुई मन्त्रीले राजीनामा दिएपछि मन्त्रिपरिषद्मा फेरबदल सुरु भएको छ । खाना पकाउने ग्यासको अभाव चर्किँदा त्यसलाई समाधान गर्न नसकेको दबाबबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उनको ठाउँमा सुनसरी–४ बाट निर्वाचित दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यादवले राजीनामा दिएको दिनमै साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदबहाली गरेका हुन् । तर, उनको अगाडि मन्त्रालय सम्हाल्नु मात्रै होइन, ग्यासको चर्को अभाव अन्त्य गरेर उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्ने तत्कालीन चुनौती खडा भएको छ ।

काठमाडौंलगायतका क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिएका बेला आपूर्ति व्यवस्थापन गर्न नसकेको विषय यादवको राजीनामासँग जोडिएको छ । यस्तो अवस्थामा उनकै ठाउँमा आएका साहका लागि ग्यास संकट तत्काल समाधान गर्नु पहिलो परीक्षाजस्तै बनेको छ ।

सरकार गठन भएको छ महिना नपुग्दै आपूर्ति मन्त्रालयको नेतृत्व परिवर्तन भएको अवस्थामा नयाँ मन्त्रीले पनि ग्यासको समस्या समाधान गर्न नसके के हुन्छ ? अहिले उपभोक्ताबीच यही प्रश्न उठेको छ ।

पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका साह पछिल्लो समय राजनीतिक दल परिवर्तन गर्दै रास्वपाबाट सांसद बनेका हुन् । उनी यसअघि जनमत पार्टीमा प्रभावशाली नेताका रूपमा रहेका थिए र जनमत पार्टी गठनमा डा. सीके राउतका निकट सहयोगीका रूपमा सक्रिय थिए ।

राजनीतिक पृष्ठभूमि जतिसुकै प्रभावशाली भए पनि मन्त्री साहको तत्कालीन सफलता वा असफलताको मापदण्ड भने ग्यासको आपूर्ति सहज बनाउने क्षमताले निर्धारण गर्ने देखिन्छ । यादवले छाडेर गएको मन्त्रालय र चर्किएको ग्यास संकटलाई साहले कसरी सम्हाल्छन् भन्ने विषय अब उनको कार्यसम्पादनको पहिलो ठूलो परीक्षा बनेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस