२०८३ भाद्र २६ गते, शुक्रबार १२:०५

खोलामै पहिरोको बाँध, जुनसुकै बेला बाढी आउन सक्ने जोखिम : सतर्क रहन चेतावनी

काठमाडौं –

सोलुखुम्बुको हुंगा (हुंकु) खोलामा पहिरो खसेर १५ मिटर अग्लो ड्याम बनेपछि बाढीको जोखिम बढेको छ । खोलामा थप पहिरो खसिरहेको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुंगा (हुंकु) खोलामा माथिबाट पहिरो खसेर खोलाको बहाव रोकिँदा करिब १५ मिटरको ड्याम बनेको हो ।

तर, ड्याम बनेपछि पनि पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम थप बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अचानक ड्याम फुटेमा खोलामा एक्कासि ठूलो बाढी आउन सक्ने सम्भावनालाई ध्यान दिँदै हुंगा खोला तथा दूधकोशी नदीको तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज २०८३ भदौ २६ गते बिहान ८ः४० बजे जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाका आधारमा हुंगा (हुंकु) खोला, दूधकोशी नदीतटीय क्षेत्र तथा आसपास बसोबास गर्ने सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले खोलाको अवस्था निरन्तर निगरानीमा रहेको जनाएको छ । स्थानीय बासिन्दालाई खोलाको बहाव बढेको वा पहिरो खसेको अवस्थामा जोखिमयुक्त क्षेत्रतर्फ नजान तथा सम्भावित बाढीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

खोलामै बनेको ड्याम र माथिबाट निरन्तर खसिरहेको पहिरोका कारण जोखिमपूर्ण अवस्था सिर्जना भएकाले स्थानीय प्रशासनले थप सूचना जारी नगरेसम्म विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस