२०८३ भाद्र २६ गते, शुक्रबार २३:१५

गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर सुत्केरी भएको घटना: डाक्टरसहित ६ जना कर्मचारी निलम्बित

काठमाडौं

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक गर्भवती महिलाले बच्चा जन्माएको गम्भीर घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले संलग्न डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कामकाजबाट हटाएको छ।

​अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (नि. प्र.मे.सु.) डा. रणजित कुमार झाले भदौ २६ गते निर्णय गर्दै उनीहरूलाई तत्कालका लागि कामकाजबाट हटाइएको जानकारी दिनुभएको हो।

​कामकाजबाट हटाइएकाहरूमा डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन्।

​गत भदौ २५ गते अस्पतालको मूल गेटबाहिरै महिलाले बच्चा जन्माएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। भिडियो सार्वजनिक भएसँगै अस्पतालको चरम ढिलासुस्ती र बेवास्तालाई लिएर सर्वसाधारण तथा सरोकारवालाहरूले चर्को विरोध गर्दै कडा छानबिनको माग गरेका थिए।

​घटनाको सत्यतथ्य पत्ता लगाउन अस्पतालले गठन गरेको छानबिन समिति तथा अन्य निकायहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट अलग राखिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस