२०८३ भाद्र २८ गते, आईतवार १५:३१

भोटेकोशी बाढीको कहर : १ हजार ३८४ शव फेला, अझै ४ हजार ८९ बेपत्ता

काठमाडौँ –

भोटेकोशी बाढीको त्रासदी झन् भयावह बन्दै गएको छ। भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ भने अझै ४ हजार ८९ जना बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढीबाट सबैभन्दा बढी शव चितवनमा ३६४, त्यसपछि नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७०, तनहुँमा ३८ र नवलपरासी पूर्वमा २२९ जनाको फेला परेको छ।

बाढीले बगाएका र विभिन्न स्थानमा फेला परेका शवको पहिचान गर्न प्रहरी र सम्बन्धित निकायले व्यापक प्रक्रिया अघि बढाएका छन्। प्रहरीका अनुसार हालसम्म १ हजार २३० शवको व्यवस्थापन भइसकेको छ। पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ।

बाढीमा ज्यान गुमाएकाको पहिचान अझै चुनौतीपूर्ण बनेको छ। प्रहरीले पहिचान हुन नसकेका १ हजार ३३९ शवको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।

उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि नेपाल प्रहरीले ठूलो जनशक्ति परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी बाढी प्रभावित क्षेत्रमा खटिएका छन्।

यसैबीच, बेपत्ताको संख्या पनि ठूलो रहेको छ। प्रहरीका अनुसार बाढीपछि हालसम्म ४ हजार ८९ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी छ।

विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा अहिले २ हजार ७१२ जनालाई राखिएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीपछि फेला परेका शवको संख्या निरन्तर बढ्दै जाँदा विपद्को मानवीय क्षतिको वास्तविक तस्वीर अझै पूर्ण रूपमा बाहिर आउन बाँकी रहेको देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस