२०८३ भाद्र २८ गते, आईतवार १५:३०

नेजामुद्दीन शमानीको पहलमा बसन्तपुर विद्यालयका लागि ७६ लाखको परियोजना स्वीकृत

वीरगन्ज-

समाजसेवी एवं लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीको पहल, समन्वय र सक्रियतामा पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।

ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले विद्यालय भवन निर्माणका लागि परियोजना अघि बढाइएको हो। विद्यालयको भौतिक पूर्वाधार विकासमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त सहयोग परियोजना लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, एन.पी.को सम्पन्न डिस्ट्रिक्ट क्याबिनेट मिटिङबाट स्वीकृत गर्ने निर्णय गरिएको जनाइएको छ। परियोजना स्वीकृत गराउन लायन्स क्लब अफ पोखरियाका अध्यक्ष शमानीले निरन्तर पहल, समन्वय र सक्रियता देखाएका थिए।

परियोजना स्वीकृत भएपछि बसन्तपुर क्षेत्रका विद्यार्थीले सुरक्षित र व्यवस्थित विद्यालय भवन पाउने बाटो खुलेको छ। ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच र गुणस्तर सुधारका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणलाई महत्वपूर्ण मानिएको छ।

परियोजना स्वीकृतिका लागि पहल, समन्वय तथा सहयोग गरेको भन्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, एन.पी.का अध्यक्ष लायन रामबिहारी पाण्डेयसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीप्रति लायन्स क्लब अफ पोखरियाले आभार व्यक्त गरेको छ।

यसैबीच, लायन्स क्लबको सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई लायन्स क्लबको पिन लगाएर सम्मान गरिएको थियो।

सम्मानपछि शमानीले आफूलाई प्रदान गरिएको माया, विश्वास र सम्मानले आफू अत्यन्त खुसी र गौरवान्वित भएको बताए। उनले आफूलाई दिइएको सम्मान तथा विश्वासका लागि हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस