२०८३ भाद्र २९ गते, सोमबार २३:४४

राष्ट्र जोगाउन राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ: दुर्गा प्रसाईं

काठमाडौँ

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले मुलुक गम्भीर सङ्कटमा परेको भन्दै देश जोगाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

झापाबाट काठमाडौँ फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रशासनले रोक लगाएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै सरकारले आफूमाथि ज्यादती र हस्तक्षेप गरेको आरोप लगाए। “मुलुकमा सुशासनको अवस्था दयनीय छ र सरकारप्रति जनताको विश्वास गुमिसकेको छ,” उनले भने, “यस्तो सरकारी ज्यादतीतर्फ बुद्धिजीवी र विज्ञहरूले बोल्नुपर्छ।”

पत्रकार सम्मेलनका क्रममा प्रसाईंले आफूलाई कुनै राजनीतिक पद वा प्रधानमन्त्री, मन्त्री बन्ने चाहना नरहेको प्रस्ट पारे। “प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले राम्रो काम गरे मलाई कुनै गुनासो वा आपत्ति छैन,” उनले जोड दिए।

यसैबिच, प्रसाईंले जेनजी आन्दोलनका क्रममा संसद् भवन र सिंहदरबार लगायतका संवेदनशील संरचनाहरूमा भएको आगजनीमा संलग्न व्यक्तिहरूबारे आफूसँग भिडियो प्रमाण रहेको दाबी गरेका छन्। ती घटनामा कसको संलग्नता थियो भन्ने स्पष्ट पार्ने भिडियो सामग्री आफूले चाँडै सार्वजनिक गर्ने घोषणासमेत उनले गरे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस