२०८३ भाद्र ३० गते, मंगलवार १२:२४

सीमाबाट भन्सार छली कपडा भित्र्याउँदै, वीरगन्जमा ११ लाखको सामान बरामद

वीरगन्ज ।

दसैँ–तिहारलगायतका ठूला पर्व नजिकिँदै गर्दा पर्साका सीमा नाकाबाट भन्सार छलीका सामान भित्र्याउने क्रम बढेको छ। यही क्रममा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँबाट ११ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ।

खुला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट भन्सार छली कपडा भित्र्याइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा साडी, कुर्तासुरुवाललगायतका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका लत्ताकपडाको कुल मूल्य ११ लाख २ हजार १ सय ४० रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको मल्लले बताए।

दसैँ, तिहारलगायतका ठूला पर्व नजिकिएसँगै सीमावर्ती क्षेत्रमा भन्सार छलीका सामानको ओसारपसार बढ्ने गरेको छ। वीरगन्जको मुख्य नाकादेखि सहायक नाकासम्म भन्सार छली रोक्न सुरक्षाकर्मी परिचालन गरिए पनि तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै विभिन्न सामान नेपाल भित्र्याउने गरेका छन्।

विशेषगरी रातको समयमा कपडा, मेवा (ड्राइफ्रुट्स), मोटरपार्ट्स, खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा विद्युतीय र इलेक्ट्रोनिक सामान भन्सार छली नेपाल भित्र्याउने गरेको स्थानीयस्तरमा देखिँदै आएको छ।

पर्वको समयमा बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण सुरक्षाकर्मीका लागि थप चुनौती बन्ने गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस