हेटौँडा–
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दिउँसो करिब २ बजे अनियन्त्रित भई भीरबाट तल खसेर सो दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने चारै जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकहरूमा नवलपरासीपूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। उनीहरूको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि हेटौँडा अस्पतालमा राखिएको छ।
दुर्घटनामा चार जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार हेटौँडाकी कल्पना तामाङको ढाड, खुट्टा र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ। यस्तै गाडी चालक बारा कलैयाका २० वर्षीय अमिर अन्सारी र मकवानपुरका राजकुमार स्याङतानको अवस्था पनि गम्भीर रहेको छ। बाराकी २१ वर्षीया बबियाकुमारी यादव भने मध्यम घाइते भएकी छन्।
घाइतेमध्ये बबियाकुमारीको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ भने गम्भीर घाइते भएका तामाङ, अन्सारी र स्याङतानलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।












