वीरगन्ज–
बच्चा जन्मिएपछि आमालाई मात्र होइन, बुबालाई पनि नवजात शिशुसँग पर्याप्त समय बिताउनुपर्ने मान्यतासहित सरकारले प्रसूति तथा पितृत्व बिदा बढाउने प्रस्ताव अघि सारेको छ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई ६ महिनासम्म प्रसूति बिदा र बुबालाई ४२ दिन बिदा दिने प्रस्ताव गरिएको छ।
कानुनमन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन संशोधन विधेयक तयार भइसकेको जानकारी दिँदै अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा लैजाने तयारी भइरहेको बताएकी छन्।
मन्त्री गौतमका अनुसार बदलिँदो जीवनशैली, कामको बढ्दो चाप तथा परिवारमा सन्तानको संख्या घट्दै गएको अवस्थामा बच्चा जन्मिएको विशेष समयमा अभिभावकलाई नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउने वातावरण बनाउन आवश्यक छ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, “आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन् । जीवनमा एक वा दुईपटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो।”
मन्त्री गौतमले प्रस्तावित व्यवस्थालाई सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा व्याख्या गरेकी छन्।
उनका अनुसार बच्चा जन्माउने प्रक्रिया आमासँग प्राकृतिक रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र हुन सक्दैन।
“बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,” उनले भनेकी छन्।
प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर कार्यान्वयनमा आएमा नेपालमा प्रसूति बिदासँगै पितृत्व बिदालाई समेत कानुनी रूपमा थप प्राथमिकता दिने नयाँ अभ्यास सुरु हुनेछ।












