२०८३ भाद्र ३१ गते, बुधबार १८:०३

सांसद हरिपन्तले भने– “निर्दोष युवा फसाइए, वास्तविक दोषीलाई कारबाही होस्”

काठमाडौं

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरिपन्तले नागरिकता दुरुपयोग गरी भइरहेको गम्भीर प्रकृतिको राजस्व छली र त्यसबाट निर्दोष नागरिकहरू कानुनी फन्दामा पर्दै आएको घटनाप्रतिको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आजको संसद् बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले माफियाहरूले कसरी सोझा र विपन्न नागरिकको नागरिकता प्रयोग गरेर ठगी धन्दा चलाइरहेका छन् भन्ने संसद्लाई अवगत गराए।

सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रका एक विपन्न युवा पविन्द्र साह गोढको उदाहरण दिँदै घटनाको पोल खोले। सामान्य चिनजानका व्यक्तिहरूले गोढको नागरिकता दुरुपयोग गरी उनीकै नाममा कम्पनी दर्ता गर्ने, बैंक खाता खोल्ने र ‘पावर अफ अटर्नी’ आफैंसँग राखेर पछि सोही कम्पनीमार्फत करोडौँको राजस्व छली गरेको उनले बताए।

राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले पविन्द्रलाई तीन करोड रुपैयाँभन्दा बढी जरिवाना र छ महिनाको कैद सजाय सुनाएको छ। तर, ती युवा आफ्नो नाममा खुलेको कम्पनी, बैंक खाता र मुद्दाको प्रक्रियाबारे पूर्ण रूपमा अनभिज्ञ रहेको सांसद पन्तको भनाइ छ। कानुनी प्रतिरक्षा र पुनरावेदनको प्रक्रियाबारे थाहै नपाएर म्याद गुज्रिएपछि प्रहरीले पक्राउ गरी उनलाई कारागार चलान गरेको उनले संसद्मा बताए।

सांसद पन्तले यो कुनै एक्लो घटना नभएको बताउँदै आफ्नो क्षेत्रमा मात्रै नागरिकता दुरुपयोग गरेर फसाइएका यस्ता आधा दर्जनभन्दा बढी घटनाहरू रहेको खुलासा गरे।

संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सांसद हरिपन्तले माग गरे, “राजस्व छलीका वास्तविक योजनाकार र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् र नागरिकता दुरुपयोग गरी फसाइएका त्यस्ता निर्दोष युवाहरूलाई तत्काल न्याय दिइयोस्।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस