काठमाडौं ।
केवल २ सय रुपैयाँको सामान किनेका ग्राहकको हातमा एकैपटक १० लाख रुपैयाँ परेको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गर्दै दुई जनालाई १०–१० लाख रुपैयाँको बम्पर उपहार परेको जनाएको छ।
विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट मात्र २ सय रुपैयाँको सामान खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने अर्का ग्राहक पनि १० लाख रुपैयाँको बम्पर उपहार विजेता बनेका छन्।
भदौ महिनामा दुई जना ग्राहकले मात्रै २० लाख रुपैयाँ बम्पर उपहार पाएका छन्।
यसैगरी, विभागले थप ३१ जनालाई दैनिक एक लाख रुपैयाँका दरले वितरण हुने नगद उपहारका लागि विजेता घोषणा गरेको छ।
आन्तरिक राजस्व विभागले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो योजनाअन्तर्गत हरेक १५–१५ दिनमा उपहार घोषणा हुँदै आएको थियो।
तर, भदौमा आएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि यसपटक मासिक रूपमा उपहार विजेता घोषणा गरिएको विभागले जनाएको छ।
यसपटकको उपहारमा भने २ सय रुपैयाँको खरिदमा १० लाख रुपैयाँ परेको तथ्यले सबैभन्दा बढी ध्यान तानेको छ।













