२०८३ आश्विन ३ गते, शनिबार १०:२४

संविधानले गणतन्त्र संस्थागत गर्दै संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्‍यो : केपी ओली

काठमाडौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई नेपालको इतिहासमा महत्वपूर्ण ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गरेको बताए। संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारबीच अधिकार बाँडफाँट गर्नुका साथै राज्यका अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उनले उल्लेख गरे।

ओलीले नेपालको संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा चित्रण गर्दै यसको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिए।

संविधान जारी गर्ने समयमा देशले कठिन परिस्थितिको सामना गर्नुपरेको स्मरण गर्दै उनले संविधान जारी भएपछि नाकाबन्दीजस्तो चुनौतीसमेत व्यहोर्नुपरेको उल्लेख गरे। यस्ता कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि थप प्रेरित गरेको उनको भनाइ छ।

उनले संविधान निर्माणका क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायले गरेका आन्दोलन तथा लोकतान्त्रिक, वामपन्थी र देशभक्तिपूर्ण आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने उल्लेख गर्दै ओलीले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस