काठमाडौं –
संविधानको कार्यान्वयन र संरक्षणको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि ‘चौतर्फी आक्रमण’ भइरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आरोप लगाएका छन्।
संविधान दिवसका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनका नाममा यसको मूल मर्ममाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।
आङ्देम्बेले संविधान संशोधनको प्रक्रिया राष्ट्रिय सहमतिका आधारमा अघि बढाउन बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ। बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ,’ उनले भनेका छन्।
संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै विभिन्न दलले लिखित असहमति जनाएको उल्लेख गर्दै उनले संशोधन प्रक्रियाप्रति प्रश्न उठाएका हुन्। कार्यदलले भने विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।
आङ्देम्बेले संविधान कार्यान्वयनको अवस्थामाथि समेत गम्भीर प्रश्न उठाएका छन्। ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ। यो गम्भीर विषय हो,’ उनले भनेका छन्।
कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने बताए।
‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ आङ्देम्बेले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस्। संविधानको मर्ममाथि खेलवाड नगरियोस्। संवैधानिक संस्थाको गरिमा नघटाइयोस्। व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस्।’
उनले संविधानमा आवश्यक सुधार गर्न संशोधन गर्न सकिने भए पनि संशोधनकै नाममा संविधानको ‘आत्मा’माथि प्रहार गर्न नहुने बताएका छन्।











