बारा –
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा मेनरोडस्थित होटलमा साथीलाई चक्कु प्रहार गरी हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले घटनाको केही घण्टामै पक्राउ गरेको छ।
प्रहरीले जीतपुरसिमरा–२ पाँचधुरे टोलका २५ वर्षीय आयुष राईलाई शनिबार राति जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानखेतबाट पक्राउ गरेको हो।
साथीको हत्या गरेर फरार भएका राईलाई प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरी घटनास्थलबाट केही घण्टामै पक्राउ गर्न सफल भएको हो।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप तीनजनालाई समेत पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
घटनास्थल रहेको होटलकी सञ्चालिकालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
जीतपुरसिमरा–२ का ३५ वर्षीय शेरबहादुर खड्कामाथि शनिबार साँझ करिब ५ बजे सिमरा मेनरोडस्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहार भएको थियो।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगन्ज लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार शनिबार दिउँसो खाजा खान होटलमा बसेका समूहबीच विवाद भएको थियो। विवादका क्रममा राईले होटलको किचेनमा रहेको मासु काट्ने चक्कु प्रहार गर्दा खड्का गम्भीर घाइते भएका थिए।
प्रारम्भिक अनुसन्धानमा बाहिरबाट आएका राईले खड्कासँग विवाद गरेपछि होटलमै रहेको चक्कुले उनीमाथि प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।
मृतक खड्काको शव वीरगन्जस्थित बयोधा मेडिसिटी हस्पिटलमा राखिएको छ।
घटनाबारे बारा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











