सुर्खेत –
नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीले संघीय सरकारमार्फत पहल गर्ने सहमति गरेका छन्।
चीनको ताक्लाकोटमा भएको छलफलमा चिनियाँ भूभागमा रहेका लेकराक्षस, मानसरोवर, गोन्जुका, आवुका र सिरिमालगायत पाँच हिमतालको प्राविधिक अध्ययन गर्ने विषय प्राथमिकताका साथ उठाइएको हो। हिमतालको अवस्था, पानीको मात्रा, विस्फोटको सम्भावना र त्यसबाट नेपालतर्फ पर्न सक्ने प्रभावबारे अध्ययन आवश्यक रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिमताल तथा प्राकृतिक विपद्को जोखिमप्रति चिनियाँ पक्षले समेत चासो देखाएको जनाइएको छ। जोखिमको नियमित निगरानीका लागि स्याटेलाइट प्रविधि, मौसम तथा हिमपातसम्बन्धी सूचना आदानप्रदान र आपत्कालीन पूर्वसूचना प्रणाली विकास गर्ने विषयमा पनि छलफल भएको छ।
छलफलमा सीमा स्तम्भको मर्मत, सीमापासलाई व्यवस्थित गर्दै डिजिटल प्रणालीमा लैजाने, सीमा हाटबजार सञ्चालन, कृषि तथा पशुजन्य वस्तुको व्यापार, हिल्सा–सिमकोट सडक र हिल्सास्थित मितेरी पुल सञ्चालनलगायतका विषयसमेत उठेका छन्।
नेपालले हिल्सा–सिमकोट सडकलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अघि बढाउन सकिने प्रस्तावसमेत राखेको छ। स्थानीयस्तरबाट समाधान गर्न सकिने विषय तत्काल अघि बढाउने र संघीय सरकारको निर्णय आवश्यक पर्ने विषय सम्बन्धित निकायमा पठाउने चिनियाँ पक्षले जनाएको छ।
बझाङ, दार्चुला र हुम्लाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका अधिकारी सहभागी छलफलमा सीमावर्ती क्षेत्रमा विपद्, व्यापार, आवागमन र पूर्वाधार विकासका विषयमा नियमित समन्वय गर्ने सहमति पनि भएको छ।
हुम्ला जिल्ला प्रशासन कार्यालय र ताक्लाकोटका सम्बन्धित अधिकारीबीच इमेलमार्फत नियमित सूचना तथा विषय आदानप्रदान गर्ने प्रणाली सुरु गर्ने सहमति भएको प्रजिअ गुरागाईंले बताए।












