न्युयोर्क –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकी अधिकारीहरू र इरानी नेताहरूबीच तीन घण्टा लामो ‘धेरै राम्रो’ वार्ता भएको पुष्टि गरेका छन्।
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी अधिकारीहरूले इरानी पक्षसँग तीन घण्टा वार्ता गरेको बताएका हुन्।
ट्रम्पले इरानी पक्षसँग छिट्टै अर्को बैठक हुने जानकारीसमेत दिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमले पनि इरानका विदेशमन्त्री अब्बास अराघ्ची र अमेरिकाका विशेष दूत स्टिभ विट्कफबीच न्युयोर्कमा भेटवार्ता भएको पुष्टि गरेको छ।
यसैबीच, कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अमेरिका–इजरायलको इरानविरुद्धको युद्धका कारण खाडी क्षेत्र अत्यन्त जोखिमपूर्ण चरणमा पुगेको बताएका छन्।
उनले दीर्घकालीन समाधानका लागि सैन्य कारबाहीभन्दा कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
कतारका अमिरले खाडी क्षेत्रमा बढ्दो तनाव अन्त्य गर्न संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने बताएका हुन्।
अमेरिका र इरानबीच बढ्दो तनाव तथा जारी युद्धका बीच न्युयोर्कमा भएको उच्चस्तरीय भेटवार्तालाई आगामी कूटनीतिक प्रयासका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।स्रोत : अलजजिरा












