२०८३ आश्विन ७ गते, बुधबार १२:०८

गाजामा इजरायली ‘नरसंहार’ रोक्न माग गर्दै पादरी र ननहरूले भ्याटिकनमा प्रदर्शन गरे

रोम –

गाजामा भइरहेको युद्धलाई आफूहरूले ‘नरसंहार’ भन्दै त्यसको अन्त्यको माग गर्दै विश्वका विभिन्न देशबाट आएका करिब १५० जना क्याथोलिक पादरी तथा धार्मिक भिक्षु, एक जना बिशप र ननहरूले मंगलबार भ्याटिकनसम्म मार्च गरेका छन्। उनीहरूले सेन्ट पिटर बासिलिकाको अगाडि प्रार्थनासमेत गरेका छन्।

प्रदर्शनकारीहरूले भ्याटिकनतर्फ जाने मुख्य सडकमा ३०० जना बालबालिकाको नाम लेखिएको ब्यानर बोकेका थिए। आयोजकहरूका अनुसार ती बालबालिका इजरायलले गाजा र दक्षिणी लेबनानमा सञ्चालन गरेको युद्धका क्रममा मारिएका थिए। मार्चमा सहभागीहरू भ्याटिकनको भूभागभित्र प्रवेश नगरेका र उनीहरूलाई इटाली प्रहरीले सुरक्षा दिएको थियो।

आयोजकहरूका अनुसार ‘प्रिस्ट्स अगेन्स्ट जेनोसाइड’ अर्थात् ‘नरसंहारविरुद्ध पादरी’ नामक सञ्जालको स्थापना सन् २०२५ अगस्टमा भएको हो। हाल यसमा पाँच महादेशका २ हजार ५०० भन्दा बढी पादरी र बिशप आबद्ध छन्। मंगलबारको मार्चमा इटालीको मान्फ्रेडोनियाका बिशप फ्रान्को मोस्कोने पनि सहभागी थिए।

भ्याटिकननजिकै प्रार्थना गरेपछि प्रदर्शनकारीहरू प्यालेस्टिनी र लेबनानी दूतावास पुगेका थिए। त्यसपछि उनीहरू इटालीको रक्षा सामग्री निर्माता कम्पनी लियोनार्दो एसपीएको रोमस्थित मुख्यालयतर्फ अघि बढेका थिए। आयोजकका अनुसार गत वर्षको तुलनामा यस वर्षको मार्चमा सहभागीको संख्या उल्लेख्य रूपमा बढी थियो।

प्रदर्शनकारीहरूले ३०० जना प्यालेस्टिनी र लेबनानी बालबालिकाको नाम लेखिएको कफन बोकेका थिए। आयोजकहरूको दाबीअनुसार युद्धविराम घोषणा भइसकेपछि पनि ती बालबालिकालाई इजरायली सेनाले मारेको थियो।

संयुक्त राष्ट्रसंघसँग सम्बन्धित निकायले नियुक्त गरेका विशेषज्ञसहित केही विज्ञहरूले गाजा क्षेत्रमा इजरायलले सञ्चालन गरेको युद्धलाई ‘नरसंहार’को परिभाषाभित्र पर्ने बताएका छन्। पोप फ्रान्सिसले पनि गाजामा नरसंहार भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न आह्वान गरेका थिए।

तर इजरायलले नरसंहारको आरोपलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ। इजरायलले आफूले सर्वसाधारणलाई क्षति नहोस् भनेर प्रयास गर्ने गरेको दाबी गर्दै नागरिकको मृत्युका लागि हमासलाई जिम्मेवार ठहराउँदै आएको छ। इजरायलको भनाइमा हमासका लडाकुहरू बाक्लो बस्ती भएका क्षेत्रमा सञ्चालन हुने भएकाले सर्वसाधारणको ज्यान जाने गरेको हो।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको बताइएको छ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्ध सुरु भएयता ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीहरूले मृतकहरूमा कति सर्वसाधारण र कति लडाकु थिए भन्ने छुट्टाछुट्टै विवरण सार्वजनिक गरेका छैनन्। उनीहरूका अनुसार मृतकमध्ये महिला र बालबालिकाको संख्या करिब आधा छ। एसोसिएटेड प्रेस(एपी)

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस