२०८३ आश्विन ८ गते, बिहीबार १४:२३

उड्नुअघि जाँच, अवतरणमै पांग्रा खुस्कियो : नेपाली वायुसेवाको मर्मतसम्भारमाथि फेरि प्रश्न

डोल्पा –

यात्रुलाई गन्तव्यसम्म सुरक्षित पुर्‍याउनुपर्ने जहाजको अवतरणकै क्रममा पांग्रा खुस्किएपछि नेपाली वायुसेवा कम्पनीका विमानको प्राविधिक अवस्था र नियमित मर्मतसम्भारमाथि फेरि प्रश्न उठेको छ ।

बिहीबार बिहान डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पांग्रा खुस्किएको हो । नेपालगन्जबाट १३ यात्रु बोकेर आएको जहाज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जहाजमा सात विदेशी र छ नेपाली गरी १३ यात्रु थिए । उनीहरूमध्ये ११ पुरुष र दुई महिला थिए । घटनामा सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजको पांग्रामा सामान्य समस्या देखिएको हो । घटनापछि जहाज धावनमार्गमै रोकिएको छ भने प्राविधिक टोलीले जहाजको अवस्था परीक्षण गरिरहेको छ ।

पांग्रा खुस्किनुको वास्तविक कारण भने प्राविधिक परीक्षणपछि मात्रै खुल्नेछ । त्यसैले यो घटना मर्मतसम्भारको कमजोरीकै कारण भएको निष्कर्षमा पुग्नुअघि प्राविधिक प्रतिवेदन आवश्यक हुन्छ । तर यात्रुवाहक विमानको अवतरणका क्रममा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिनुले विमानको नियमित निरीक्षण, मर्मतसम्भार र सुरक्षा परीक्षण कति प्रभावकारी छन् भन्ने प्रश्न भने स्वाभाविक रूपमा उठाएको छ ।

सौर्य एयरलाइन्स दुर्घटनाले दिएको गम्भीर सन्देश

नेपालमा विमानको प्राविधिक तथा सञ्चालन सुरक्षासम्बन्धी प्रश्न नयाँ भने होइन । यसको गम्भीर उदाहरण २४ जुलाई २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको दुर्घटनालाई लिन सकिन्छ ।

सौर्य एयरलाइन्सको सीआरजे–२०० विमान मर्मतका लागि पोखरा लैजाने क्रममा उडान भरेको केही समयमै दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो । दुर्घटना अनुसन्धान आयोगको अन्तिम प्रतिवेदनले विमानमा प्रत्यक्ष रूपमा पहिलेदेखिको कुनै प्राविधिक खराबी रहेको प्रमाण नभेटिएको उल्लेख गरेको छ । बरु गलत टेकअफ स्पिड गणना, सञ्चालन प्रक्रियाको पालना तथा सुरक्षा व्यवस्थापन प्रणालीमा देखिएका कमजोरीलगायत विषयलाई प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनमा सौर्य एयरलाइन्सको सञ्चालन प्रक्रियामा गम्भीर गैरअनुपालन र सुरक्षा व्यवस्थापन प्रणालीमा कमजोरी देखिएको उल्लेख छ । साथै नियामक निकायको अनुगमन क्षमतामा जनशक्ति अभावलगायत समस्या पनि औंल्याइएको छ ।

यस घटनाले विमानको सुरक्षा केवल पाइलटको दक्षतामा मात्रै निर्भर नहुने देखाएको छ । विमानको नियमित मर्मतसम्भार, प्राविधिक परीक्षण, स्पेयर पार्ट्सको गुणस्तर, मर्मतसम्बन्धी अभिलेख, सञ्चालन प्रक्रिया र नियामक निकायको प्रभावकारी अनुगमन पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

एउटा पांग्राले उठाएको ठूलो प्रश्न

जुफालमा भएको पछिल्लो घटनामा कुनै मानवीय क्षति भएको छैन । तर अवतरणका क्रममा जहाजको पांग्रा खुस्किनु सामान्य प्राविधिक घटना भनेर मात्र पन्छाउने विषय होइन ।

जहाज आकाशमा उडिरहँदा सामान्य देखिने एउटा सानो प्राविधिक कमजोरीले पनि गम्भीर दुर्घटनाको रूप लिन सक्छ । त्यसैले विमानको कुनै पनि प्राविधिक समस्या देखिएपछि त्यसको कारण पहिचान गरी आवश्यक मर्मत, परीक्षण र पुनःउडान स्वीकृतिको प्रक्रिया कडाइका साथ पालना हुनु आवश्यक हुन्छ ।

नेपालमा हवाई यात्राको विस्तारसँगै विमानको सुरक्षा परीक्षण र मर्मतसम्भारको गुणस्तरमाथि पनि निरन्तर निगरानी आवश्यक देखिन्छ । जुफालको घटनामा प्राविधिक टोलीको परीक्षणले पांग्रा खुस्किनुको कारण के थियो भन्ने स्पष्ट पार्नेछ । त्यसपछि मात्रै यो सामान्य यान्त्रिक खराबी थियो वा मर्मतसम्भार तथा निरीक्षण प्रक्रियासँग जोडिएको कमजोरी, निष्कर्षमा पुग्न सकिनेछ ।

यात्रुको ज्यानसँग प्रत्यक्ष जोडिएको हवाई सुरक्षामा सानो समस्या’ भनेर कुनै पनि प्राविधिक त्रुटिलाई बेवास्ता गर्ने ठाउँ हुँदैन ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस