वीरगन्ज-
लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडकमा यातायात प्रभावित भएको छ । कतिपय सडकखण्डमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने जोखिमयुक्त सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सबैभन्दा बढी प्रभावितमध्ये बीपी राजमार्ग रहेको छ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ को गिम्दीबेँसीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण दुवैतर्फको यातायात रोकिएको छ भने सडक खुलाउने प्रयास भइरहेको छ ।
वर्षाका कारण जोखिम बढेपछि काभ्रे खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । यसले काठमाडौं र पूर्वी नेपालबीचको सडक आवागमनमा प्रत्यक्ष असर पारेको छ ।
यस्तै, पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीर क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । अस्थायी डाइभर्सनमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउनसमेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वी नेपालतर्फको उत्तर–दक्षिण कोशी राजमार्ग पनि पहिरोको चपेटामा परेको छ । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत भोटखोला क्षेत्रको हुङहुङमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी कान्ति लोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ । ललितपुर–मकवानपुर जोड्ने यो सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यका र हेटौंडाबीचको वैकल्पिक सडक सम्पर्कसमेत प्रभावित भएको छ ।
सिद्धार्थ राजमार्गको पाल्पास्थित सिद्धबाबा क्षेत्रमा पनि पहिरोको जोखिमका कारण यातायात सञ्चालन प्रभावित भएको छ । पहिरो हटाइएपछि केही समय यातायात सञ्चालनमा आए पनि उक्त क्षेत्र अझै जोखिममुक्त भने छैन ।
लगातारको वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले अन्य जोखिमयुक्त सडकमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । सिद्धिचरण लोकमार्ग, टोखा–छहरे सडक, कान्ति राजमार्ग, भैंसे–भीमफेदी–देउराली–कुलेखानी सडक, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक, राप्ती राजमार्ग तथा मदन भण्डारी राजमार्गका विभिन्न खण्ड रातिको समयमा प्रभावित हुने सडकमा परेका छन् ।
वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था जुनसुकै बेला फेरिन सक्ने सुरक्षा निकायले जनाएको छ । पहिरोको जोखिम रहेका सडकमा यात्रा गर्दा यात्रुले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा रातिको समयमा जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
लगातारको वर्षा, माथिबाट झर्ने पहिरो र सडकमा जम्मा हुने लेदोका कारण राजमार्गको यात्रा अहिले जोखिमपूर्ण बनेको छ । राजधानीलाई पूर्व–पश्चिमसँग जोड्ने मुख्य सडकदेखि हिमाली जिल्लासम्मका सडक प्रभावित हुँदा वर्षाले देशको सडक सञ्जाल नै अस्तव्यस्त बनाएको छ ।













