२०८३ आश्विन ९ गते, शुक्रबार १२:००

भारतमा अविरल वर्षाको वितण्डा : आन्ध्रमा ६ जनाको मृत्यु, ओडिशामा ८ हजारभन्दा बढी विस्थापित

काठमाण्डौ –

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण भारतका विभिन्न राज्यमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । विशेषगरी आन्ध्र प्रदेश र ओडिशामा भारी वर्षासँगै बाढी, पहिरो, सडक अवरोध तथा घर र विद्युत् संरचनामा क्षति पुगेको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार तटीय आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाका कारण छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक ८ वर्षीय बालकसमेत छन् । वर्षाका कारण घरका पर्खाल भत्किने तथा करेन्ट लाग्ने घटनामा उनीहरूको मृत्यु भएको हो।

टाइम्स अफ इन्डियाका अनुसार आन्ध्र प्रदेशका विशाखापट्टनम, काकिनाडा, एलुरु, एनटीआर, कृष्णा, पूर्वी गोदावरी, श्रीकाकुलम, विजयनगरम, पश्चिम गोदावरी, अनकापल्ली, पार्वतीपुरम मन्यम, अल्लुरी सीताराम राजु र गुंटुरलगायत जिल्लामा भारी वर्षा भएको छ ।

विशाखापट्टनममा मात्रै पछिल्लो २४ घण्टामा २८ सेन्टिमिटरसम्म वर्षा भएको रिपोर्टमा उल्लेख छ । काकिनाडा र पेड्डापुरममा १५–१५ सेन्टिमिटर तथा विजयवाडामा १४ सेन्टिमिटर वर्षा भएको छ ।

वर्षाका कारण आन्ध्र प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध, घर भत्किने, रुख तथा विद्युत् पोल ढल्ने, सडक तथा कल्भर्टमा क्षति पुग्ने र पहिरो जाने घटना भएका छन् । केही स्थानमा बाढीको पानी मुख्य सडकमा पसेपछि यातायातसमेत ठप्प भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

ओडिशामा ८ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

भारी वर्षाको अर्को ठूलो असर छिमेकी ओडिशामा परेको छ । इन्डिया टुडेका अनुसार वर्षाका कारण ओडिशाका दक्षिणी जिल्लामा बाढी र पहिरोको जोखिम बढेपछि ८ हजार ८२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

गञ्जाम, गजपति, मलकानगिरी, कोरापुट, रायगडा र नवरङ्गपुर जिल्लालाई वर्षाबाट बढी प्रभावित क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

टाइम्स अफ इन्डियाले ओडिशाका १३७ ग्राम पञ्चायतअन्तर्गतका करिब २७३ गाउँ तथा पाँच शहरी क्षेत्रका २० वडा वर्षाबाट प्रभावित भएको जनाएको छ । बाढी, पहिरो, रुख ढल्ने, घरमा क्षति तथा सडक सम्पर्क अवरुद्ध हुने समस्या देखिएको छ ।

मलकानगिरीमा राष्ट्रिय राजमार्ग–३२६ अन्तर्गतका पोटेरु, कंगुरुकोन्डा, कन्याश्रम र एमभी–९०का चारवटा तल्लो पुलमा ४ देखि ५ फिटसम्म पानी बगेपछि यातायात अवरुद्ध भएको इन्डिया टुडेले जनाएको छ । मलकानगिरी–मोटु सडकमा सयौँ सवारीसाधन रोकिएका छन् ।

त्यस्तै, मलकानगिरी–छत्तीसगढ जोड्ने सडकको पुलसमेत डुबानमा परेको छ । भारी पानीको बहाव र पहिरोको जोखिमका कारण बालिमेला–चित्रकोन्डा घाट सडक बन्द गरिएको छ ।

रेल सेवा प्रभावित, विद्यालय बन्द

हिन्दुस्तान टाइम्सका अनुसार गहिरो न्यूनचापीय प्रणालीका कारण ओडिशा र आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा, जलमग्नता र पहिरोको अवस्था देखिएको छ । जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने रेल सेवा पनि प्रभावित भएको छ ।

ओडिशाका विभिन्न जिल्लामा विद्यालय बन्द गरिएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडक सम्पर्क विच्छेद, उद्धार र निगरानी तीव्र

ओडिशामा बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले उद्धार तथा राहत टोलीलाई परिचालन गरेको छ । नदी तथा जलाशयको पानीको सतहसमेत निगरानीमा राखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार गञ्जामको खल्लिकोटमा राष्ट्रिय राजमार्ग–१६ मा पहिरो गएको छ । मलकानगिरी र नवरङ्गपुरका विभिन्न सडक डुबानमा परेका छन् । कोरापुटमा कोलाब जलाशयको ब्याकवाटरमा एक शिक्षक बगेको रिपोर्टसमेत आएको छ ।

मौसम प्रणाली कमजोर हुँदै गए पनि जोखिम कायमै

भारत मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको गहिरो न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने क्रममा छ । तर यसको प्रभावका कारण ओडिशा, आन्ध्र प्रदेशसहित भारतका विभिन्न क्षेत्रमा अझै भारी वर्षा, हावाहुरी, बाढी र पहिरोको जोखिम रहेको छ ।

भारतीय सञ्चारमाध्यमका पछिल्ला रिपोर्टले वर्षाको तत्कालीन प्रभाव मुख्यतः आन्ध्र प्रदेश र ओडिशामा सडक अवरोध, बाढी, पहिरो, संरचनामा क्षति र जनताको विस्थापनका रूपमा देखिएको पुष्टि गरेका छन् । आन्ध्र प्रदेशमा मृत्युको संख्या ६ पुगेको रिपोर्ट आए पनि ओडिशामा बिहीबारसम्म वर्षाजन्य घटनाबाट मृत्यु वा घाइते भएको रिपोर्ट नरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ ।स्रोत : टाइम्स अफ इन्डिया, इन्डिया टुडे, हिन्दुस्तान टाइम्स तथा भारत मौसम विज्ञान विभाग (आईएमडी)।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस