२०८३ आश्विन १० गते, शनिबार २३:१२

सुस्ताको बस्तीमा पस्यो नारायणीको बाढी, १६५ घर डुबानमा, सयौँ परिवार उच्च जोखिममा

बुटवल –

नारायणी नदीमा पानीको बहाव निरन्तर बढेपछि पश्चिम नवलपरासीको सुस्ताका बस्तीमा बाढी पस्न थालेको छ। नदीको बाढी बस्तीमा प्रवेश गरेसँगै सुस्ताका १६५ घरपरिवार उच्च जोखिममा परेका छन्।

सुस्ता गाउँपालिका–५ को थारु टोलबाट शुक्रबारदेखि बस्तीमा पस्न थालेको नारायणीको बाढीले १६५ घर प्रभावित भएका हुन्। बाढीको जोखिम बढेपछि थारु टोलका ७८ घरपरिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा सारिएको थियो।

राति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।

नदीमा पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले जोखिममा रहेका परिवारलाई नारायणी नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको खातीले बताए। कच्ची घरमा बाढी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ।

शनिबार बिहान ७ बजे गरिएको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ। नदीको बहाव बढ्दै गएपछि सुस्ताका थप बस्ती डुबानमा पर्ने जोखिम बढेको स्थानीयले बताएका छन्।

नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्तातर्फ सोझिएपछि नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्नेबित्तिकै सुस्तामा बाढी पस्ने गरेको वडा सदस्य आदम खानले बताए।

‘नदीमा पानीको सतह निरन्तर बढिरहेको छ। सुस्ताका सबै बस्ती जोखिममा छन्,’ खानले भने।

स्थानीयका अनुसार सुस्तामा निर्माणाधीन तटबन्धसमेत पूरा नहुँदा बाढीको जोखिम झनै बढेको छ। भारतीय पक्षले तटबन्ध निर्माण रोकेपछि बाँकी रहेको १३२ मिटर क्षेत्रमा नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बाबु खानले बताए।

बाढीले बस्तीमा मात्र नभई सुस्ताका उखु खेतीमा समेत क्षति पुर्‍याउन थालेको स्थानीयले बताएका छन्।

यसैबीच, जोखिममा रहेका परिवारलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था आए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

नारायणीमा पानीको बहाव बढ्दै गएको र तटबन्धको कमजोर अवस्थाका कारण सुस्तामा बाढीको जोखिम थप बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस