काठमाडौं –
नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन प्रक्रिया व्यवस्थित गर्न तथा विभिन्न समितिबीच समन्वय र सहजीकरणका लागि समितिहरू गठन गरिएको हो ।
नेपाली कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशन व्यवस्थापनका क्रममा आवश्यक निर्णय लिन, विभिन्न समितिहरूको कामको समन्वय गर्न तथा तोकिएको जिम्मेवारीअनुसार काम भए–नभएको सुनिश्चित गर्न १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। समितिको संयोजकमा सभापति गगनकुमार थापा रहेका छन् ।
निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन् । प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव तोकिएका छन् ।
यसैगरी महाधिवेशनका लागि आर्थिक व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय, अतिथि स्वागत, समारोह स्थल व्यवस्थापन, प्रदेश तथा स्थानीय तहगत समन्वय, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय, स्वयंसेवक व्यवस्थापन, भोजन व्यवस्थापन, आवास व्यवस्थापन, स्वास्थ्य, यातायात व्यवस्थापन तथा सांस्कृतिक–साहित्यिक संयोजन समिति गठन गरिएको छ ।
आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ तोकिएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे तथा सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा रहेका छन् ।
त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिएका छन् ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा तथा भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट रहेका छन् ।
आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला र स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी तोकिएका छन् ।
यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्यका रूपमा मनोनयन गरेको छ ।
कांग्रेसका अनुसार यसअघि केन्द्रीय कार्यसमितिको भदौ १ गते सम्पन्न बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो । नयाँ समितिहरूले महाधिवेशनको व्यवस्थापन तथा समन्वयसम्बन्धी जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।












