वीरगन्ज–
लगातारको भारी वर्षापछि आएको बाढी, पहिरो र सडक भासिने समस्याले देशभरको यातायात प्रणाली प्रभावित भएको छ। विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक कटान र बाढीले पुल तथा सडकमा क्षति पुर्याउँदा कम्तीमा १४ प्रमुख राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सबैभन्दा बढी प्रभाव काठमाडौं जोड्ने प्रमुख सडकमा परेको छ। पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक र बीपी राजमार्गमा पहिरो तथा सडक भासिएपछि यातायात प्रभावित भएको छ। यसले काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य सडक सञ्जालमै समस्या सिर्जना गरेको छ।
धादिङतर्फ पृथ्वी राजमार्गको कृष्णभीर, तिङराङखानीलगायत क्षेत्रमा पहिरो गएको छ। चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिएपछि पनि यातायात प्रभावित भएको छ।
नारायणगढ–मुग्लिन सडकमा लगातार पहिरो खस्ने जोखिम रहेकाले अर्को सूचना नभएसम्म सवारी आवागमन रोकिएको छ। राजधानीबाट चितवन हुँदै पूर्वी तथा पश्चिम नेपाल जाने प्रमुख मार्ग भएकाले यसको अवरोधले लामो दूरीको यातायातमा प्रत्यक्ष असर पारेको छ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
रसुवातर्फ पनि सडक सञ्जाल बाढी र पहिरोको चपेटामा परेको छ। पासाङल्हामु राजमार्गको बारा घुम्ती–रसुवागढी खण्ड तथा मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएका छन्।
धादिङको कालुपाण्डे राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा समेत बाढी तथा पहिरोका कारण यातायात रोकिएको छ।
काठमाडौंलाई मकवानपुरसँग जोड्ने कान्तिलोकपथ पनि सुरक्षित रहन सकेन। ललितपुरको बागमती–३ पाङदुर/टाकुर्चे तथा गोदावरी–६ बिर्खेधारा क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
पूर्वी नेपालमा पनि राजमार्ग तथा करिडोरमा पहिरोले यातायात प्रभावित बनाएको छ। सिद्धिचरण राजमार्गको ओखलढुंगा क्षेत्रमा भँडारे खोला तथा चित्रे, तमोर करिडोरको पाँचथरस्थित तुम्बेवा–२ नांवाखोला र मध्यपहाडी लोकमार्गको याङवरक–२ दोभाने खोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।
मध्य नेपालतर्फ चामे–बेँसीसहर सडकको मनाङस्थित नासो–३ खोत्रोमा पहिरो गएपछि सडक बन्द भएको छ। बागलुङको मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–४ कानाबगरमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ।
त्यस्तै, कालीगण्डकी करिडोरको बागलुङ जैमिनी–८ बेलबगर तथा पोखरा–बेनी–बागलुङ सडकको पर्वत जलजला–८ फर्से र लस्ती क्षेत्रमा पहिरोका कारण यातायात ठप्प भएको छ।
पश्चिम नेपालमा पनि बाढी र पहिरोले सडक यातायातलाई प्रभावित बनाएको छ। मदन भण्डारी राजमार्गको रोल्पा नगरपालिका–७ माडीचौर, घोराही–थवाङ–रुकुम सहिद मार्गको रोल्पा माडी–३ गरगरे तथा गोरुसिङ्गे–सन्धिखर्क सडकको अर्घाखाँची सन्धिखर्क–६ रिपामा पहिरोका कारण सडक अवरुद्ध भएको छ।
त्यसैगरी, कर्णाली राजमार्गको कालिकोट शुभकालिका–१ र राप्ती राजमार्गको सल्यान कपुरकोट–५ खारखोला क्षेत्रमा पनि पहिरो गएपछि यातायात सञ्चालन हुन सकेको छैन। दाङतर्फ राप्ती राजमार्ग तथा भालुवाङ–चकचके सडकसमेत प्रभावित भएका छन्।
काठमाडौं प्रवेशका लागि वैकल्पिक मार्गको प्रयोग
मुख्य राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। त्रिभुवन राजपथ अत्यावश्यक सामग्री काठमाडौं भित्र्याउन एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
त्यस्तै, साना सवारीका लागि हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा टोखा–छहरे लगायतका वैकल्पिक मार्ग प्रयोग भइरहेका छन्।
तर निरन्तर वर्षा भइरहेकाले पहिरो तथा सडक कटानको जोखिम अझै कायम छ। सडकको अवस्था वर्षासँगै फेरबदल भइरहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
भारी वर्षासँगै देशका विभिन्न सडकमा एकपछि अर्को अवरोध देखिन थालेपछि राजमार्गको अवस्था मात्रै होइन, अत्यावश्यक वस्तुको आपूर्ति र लामो दूरीको यातायातसमेत प्रभावित हुने जोखिम बढेको छ।
















