२०८३ आश्विन १० गते, शनिबार २३:१०

एक महिना मोबाइलको घण्टी कुरे, अन्ततः घाटमा पुग्यो खड्का दम्पतीको यात्रा

इटहरी । ‘कतै बुवा–आमाको फोन त आएन ?’ इटहरी–२० तरहरास्थित खड्का परिवारमा पछिल्लो एक महिनादेखि मोबाइल बज्दा सबैको ध्यान त्यतै जान्थ्यो। रसुवाबाट सम्पर्कविहीन भएका अम्बरकाजी खड्का र उनकी श्रीमती मनकुमारी खड्का फर्किएर घर आउने आशा परिवारले लामो समयसम्म छाडेन ।

तर एक महिना बितिसक्दा पनि कुनै खबर आएन ।

अन्ततः शुक्रबार परिवारले उनीहरू घर फर्किने प्रतीक्षा टुंग्याउँदै इटहरीको बुढी खोला किनारमा कुसको शव बनाएर धार्मिक विधिअनुसार अन्त्येष्टि गरेको छ ।

कैलाश मानसरोवरको दर्शन गर्ने लामो समयदेखिको सपना बोकेर खड्का दम्पती घरबाट यात्रामा निस्किएका थिए । यात्राका क्रममा उनीहरूले परिवारसँग सम्पर्क पनि गरिरहेका थिए । 

रसुवा पुगेपछि अम्बरकाजीले कान्छा छोरा सुवास, जेठा छोरा सञ्जय र ९० वर्षीय बुवा चन्द्रबहादुरसँग ह्वाट्सएपमार्फत भिडियो कुराकानी गरेका थिए ।

भिडियो कलमा उनले आफू पुगेको ठाउँका दृश्य परिवारलाई देखाएका थिए । यात्राको उत्साह र खुसी परिवारसँग साटेका थिए । तर त्यही कुराकानी उनीहरूको अन्तिम सम्पर्क बन्न पुग्यो ।

गाडीमै रहेका बेला अम्बरकाजीले आफ्ना ९० वर्षीय बुवा चन्द्रबहादुरसँग पनि कुराकानी गरेका थिए । त्यसपछि चीन सीमा नजिकैको रसुवा अध्यागमन कार्यालय क्षेत्र आसपास पुगेपछि उनीहरूसँग परिवारको सम्पर्क टुट्यो ।

सुरुमा परिवारले नेटवर्कको समस्या भएको हुनसक्ने अनुमान ग¥यो । केही समयपछि फोन आउने अपेक्षा गरियो । तर दिन बित्दै गए, फोन आएन । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बन्यो ।

खोजीका लागि स्थानीयस्तरबाट पहल भयो । सम्बन्धित निकायसँग समन्वय गरियो। परिवारले सम्भावित खबरको प्रतीक्षा गरिरह्यो । तर खड्का दम्पतीको अवस्था यकिन हुन सकेन ।

एक महिनासम्म पनि कुनै निश्चित खबर नआएपछि परिवारले धार्मिक विधिअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।

‘हामीले एक महिनासम्म पर्खियौँ। कुनै पनि खबर आएन। त्यसपछि विधि पु¥याएका हौँ,’ परिवारका एक सदस्यले भने ।

शुक्रबार बुढी खोला किनारमा अन्त्येष्टिका लागि आफन्त, स्थानीय र शुभेच्छुकहरू जम्मा भएका थिए। केही समयअघिसम्म घर फर्किने आशामा रहेका आफन्तहरू त्यही दिन उनीहरूको अन्तिम संस्कारका लागि उपस्थित भए ।

इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले घटनाले आफूहरू दुःखी भएको बताए । दम्पतीको खोजीमा स्थानीयस्तरबाट समेत आवश्यक पहल गरिएको उनले जनाए ।

स्थानीय राजन कट्वालका अनुसार खड्का दम्पती रसुवाको भन्सार क्षेत्र आसपास बाढीको चपेटामा परेको अनुमान गरिएको छ ।

‘उहाँहरू भन्सारमै बाढीको चपेटामा पर्नुभएको अवस्थामा हामी सबैले विधि पु¥याएका हौँ,’ कट्वालले भने ।

धर्मशास्त्रका जानकार ज्योतिष डा। कमल दाहालका अनुसार शव फेला नपरेको अवस्थामा धार्मिक विधिअनुसार कुसको शव बनाएर अन्तिम संस्कार गर्ने परम्परा छ । सोहीअनुसार खड्का दम्पतीको पनि विशेष विधि पूरा गरी अन्त्येष्टि गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस