२०८३ आश्विन ११ गते, आईतवार १५:०३

नारायणीमा बाढीको उच्च जोखिम, जलसतह १३ मिटर पुग्न सक्ने चेतावनी

काठमाडौं –

जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा बाढीको जोखिम उच्च रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ ।

शुक्रबार बिहान ७ः४५ बजे जारी बुलेटिनअनुसार नारायणी नदीको जलसतह खतराको तह ९.० मिटर पार गर्दै करिब ११.० मिटर पुगेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले आज बिहान करिब ११ बजे १३.० मिटर पुग्न सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । साथै, आज साँझसम्म पनि नदीको बहाव खतराको तहभन्दा माथि रहने सम्भावना रहेको उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार कालीगण्डकी नदीको बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ । सेती, मादी, मस्र्याङ्दी, दरौंदी र चेपे नदीमा बहाव सतर्कताको तह नाघेर बढिरहेको छ भने बुढीगण्डकी र त्रिशूली नदीको बहाव पनि सतर्कताको तह नजिक पुगेर बढ्दो क्रममा छ ।

उच्च बहावका कारण चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान प्रभावित क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध भएका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, चितवन र नवलपरासीका डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान वा आवश्यक परे स्थानान्तरण हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस