२०८३ आश्विन ११ गते, आईतवार १५:०३

अविरल वर्षाले मधेशसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित: सप्तरीमा बालकको मृत्यु, गण्डक ब्यारेजका सबै ढोका खोलिए

वीरगन्ज-

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देशका विभिन्न भागमा जनजीवन नराम्ररी प्रभावित भएको छ। मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायत जिल्लाका नदी तथा खोलानालामा पानीको सतह बढेसँगै तटीय र होचा भू–भागमा डुबानको जोखिम उच्च बनेको छ।

सप्तरीमा कोशी नदीको बाढीका कारण १ सय ५७ घर डुबानमा परेका छन्। तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर तथा हनुमाननगर कंकालिनी नगरपालिका–१२ को कोशी तटीय क्षेत्रमा ८० र वडा नम्बर १३ को गोबरगाढामा ६० घर डुबानमा परेका छन्। घरभित्र पानी पस्दा खाद्यान्नमा क्षति पुगेको छ भने स्थानीयलाई बस्न र खान समस्या भएको छ। वृद्धवृद्धा तथा बालबालिकालाई कोशीको पश्चिमी तटबन्धलगायत सुरक्षित स्थानमा सारिएको छ। गोबरगाढामा जमेको खाल्डोमा डुबेर ५ वर्षीय विवेक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। लगातारको वर्षाले कोशी, बलान, कमला र रातु नदीमा बहाव बढेको छ।

नारायणी नदीमा बाढी, गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

लगातारको वर्षापछि नारायणी नदीमा पानीको बहाव उच्च भएपछि पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएका छन्। देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह ९ मिटर बढेर खतराको चेतावनी दिएको छ। नारायणीको बाढीले कावासोती–१७ अमलटारी, गैँडाकोट–२ र पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा डुबान गरेको छ। सुस्ता गाउँपालिका–५ मा बाढीमा फसेका २९ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने त्यहाँ दुई सयभन्दा बढी घर डुबानमा परेका छन्।

सडक अवरोध र अन्य क्षेत्रको प्रभाव

वर्षाका कारण विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। गोरखाको चुमनुव्री–३ पैयुमा पहिरो खस्दा लार्के सडक अवरुद्ध भएको छ भने कर्णाली प्रदेशमा ६ वटा सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्। पाँचथर–धनकुटा सीमास्थित नावा खोलामा बहाव घटेपछि तमोर करिडोर र मध्यपहाडी राजमार्गको पाँचथर खण्ड सञ्चालनमा आए पनि फिदिम–फालौट र जोरपोखरी–एकतिन सडक अझै अवरुद्ध छन्। प्रशासनले मुख्य तथा सहायक सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

यता, भोटेकोशी र त्रिशूली नदीको बाढीबाट विस्थापित भई नुवाकोट र रसुवाका अस्थायी शिविर तथा त्रिपालमा बसिरहेका परिवारहरू निरन्तरको वर्षाले थप कष्टकर स्थितिमा पुगेका छन्। पिपलटार, ढुंगे, गेर्खु, भैँसे तथा त्रिशूली बजार क्षेत्रका शिविरमा पानी पसेपछि बालबालिका, सुत्केरी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

प्रशासनले नदी तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका स्थान र अस्थायी शिविरमा बसोबास गरिरहेका नागरिकहरूलाई सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस