२०८३ आश्विन ११ गते, आईतवार २०:०४

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा नाम जोडिएकोमा वीरगन्जका मेयर सिंहद्वारा आपत्ति, चोलेन्द्र परिवारको जिम्मामा

वीरगन्ज —

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा पक्राउ परेको विषयमा आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोप्रति वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गम्भीर आपत्ति जनाएका छन्।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार एक विज्ञप्ति जारी गर्दै राणा पक्राउ प्रकरणमा मेयर सिंहलाई जोडेर अनलाइनखबर लगायतका सञ्चारमाध्यममा आएका समाचारप्रति कडा आपत्ति प्रकट गरेका हुन्। राणा स्वयंले पक्राउको कारण खोजिरहेको अवस्थामा घटनासँग असम्बन्धित व्यक्तिलाई जबर्जस्ती जोडेर प्रतिष्ठामा आँच पुर्‍याउने र पाठकमा भ्रम सिर्जना गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा मेयर सिंहको नागरिकता सम्बन्धी मुद्दा कानुनी प्रक्रिया पूरा गरी विशेष अदालतबाट सफाइ पाइसकेको स्पष्ट पारिएको छ। अदालतको निर्णयपछि सिंह पुनः महानगरवासीको सेवामा फर्किएको विषयलाई अन्य व्यक्तिको पक्राउ प्रकरणसँग जोड्नु तथ्यलाई विकृत गर्नु, अनर्गल प्रचार गर्नु र पूर्वाग्रह राख्नुबाहेक केही नभएको दाबी गरिएको छ। साथै, तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई खण्डन गर्न आग्रह गर्दै प्रेस काउन्सिल नेपाललगायतका निकायमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ।

जबरा परिवारको जिम्मामा

यसैबीच, सुरक्षा जोखिम देखिएको भन्दै प्रहरी नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हाल परिवारको जिम्मा लगाइएको छ। शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाटै अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह तथा दुष्प्रचार फैलिएको भन्दै सुरक्षाका निम्ति उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उनीमाथि गरिएको कारबाही र पक्राउको स्पष्ट कारण सार्वजनिकनगरिए पनि सुरक्षा नै मुख्य कारण रहेको बताइएको छ। यसैबीच, उनलाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदिएर फर्काएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस