वीरगन्ज-
पर्सा जिल्लामा पत्रकारिताको स्तर खस्किँदै गएकोप्रति अगुवा सञ्चारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
बढ्दो प्रविधिको प्रयोगसँगै खोजमूलक पत्रकारितामा कमी आउँदा सञ्चार क्षेत्रले पाठकमाझ आफ्नो विश्वसनीयता गुमाउँदै गएको हो कि भन्ने चिन्ता उनीहरूले व्यक्त गरेका हुन्।
क्रियाशील युवा पत्रकार मञ्च नेपाल, पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले सञ्चार जगत्प्रति जनसाधारणको घट्दो विश्वासप्रति चिन्ता व्यक्त गर्नुभयो।
पत्रकारिता क्षेत्रमा संख्यात्मक रूपमा सञ्चारकर्मीको संख्या वृद्धि भए पनि गुणात्मक रूपमा सन्तोष गर्ने अवस्था भने कमै रहेको उहाँले बताउनुभयो।
मञ्च पर्साका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारितामा देखिएका चुनौती, सञ्चारमाध्यमको आर्थिक अवस्था तथा पत्रकारहरूले भोग्दै आएका विभिन्न समस्याबारे धारणा राख्नुभयो।
उहाँले पत्रकारहरूको व्यावसायिक सुरक्षा, श्रमको सम्मान र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय महतो, प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेललगायत सञ्चारकर्मीहरूले जनमुखी पत्रकारिता गर्न पत्रकारहरूलाई सुझाव दिएका थिए।
अगुवा पत्रकारहरूले एआईको प्रयोगबाट तयार पारिएका समाचारमा मात्र निर्भर भएर पत्रकारिता नगर्न तथा घटनामा आधारित र वस्तुनिष्ठ समाचारलाई प्राथमिकता दिन स्थानीय सञ्चारकर्मीहरूलाई सुझाव दिएका थिए।
कार्यक्रममा क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन्।
संस्थामा आबद्ध भएका पत्रकारहरूलाई प्रमुख अतिथि लामिछानेले गम्छा र टीका लगाई प्रमाणपत्र प्रदान गर्दै संस्थामा स्वागत गर्नुभएको थियो।











