मकवानपुर –
तीन दिनदेखि लगातार भइरहेको अविरल वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरे बस्तीको जमिन चिराचिरा परेको छ। जमिन चिरिन थालेपछि बस्तीमा जोखिम बढेको भन्दै १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
भिरालो भू–भागमा रहेको बस्तीको जमिन ठाउँ–ठाउँमा चिरा परेपछि स्थानीयमा त्रास फैलिएको छ। जमिन थप चिरिँदै गएपछि घरहरू जोखिममा पर्न सक्ने भन्दै प्रहरीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको हो।
मकवानपुर प्रहरीले लगातारको वर्षाका कारण जमिन गलेर भासिने तथा चिरा पर्ने अवस्था सिर्जना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
जमिन चिरा परेपछि बस्तीको जोखिमबारे थप अध्ययन तथा निरीक्षण आवश्यक देखिएको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले जमिन थप चिरिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिए पनि वर्षा नरोकिएसम्म बस्तीमा जोखिम कायमै रहेको स्थानीयले बताएका छन्।
श्रोतः अनलाईन खबर











