२०८३ आश्विन २० गते, मंगलवार १२:४२

पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा उल्लङ्घनप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर आपत्ति

काठमाडौं —

पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालको मठ-मन्दिर, अर्चक, पुरोहित विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभाग प्रमुख दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा हिन्दू धर्मावलम्बीबाहेक अन्य गैर-सनातनीलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको परम्परागत व्यवस्था रहेको स्मरण गराइएको छ। यो व्यवस्था कुनै समुदायप्रति विभेद गर्न नभई मन्दिरको धार्मिक परम्परा, आस्था र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको स्पष्ट पारिएको छ।

हालै सामाजिक सञ्जालमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको र त्यसलाई चुनौतीका रूपमा प्रस्तुत गर्दै भिडियो सार्वजनिक गरिएको विषय अत्यन्त गम्भीर र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ। धार्मिक स्थलमा प्रचलित नियमलाई जानाजान चुनौती दिने र धार्मिक भावनामा असर पार्ने कार्य स्वीकार्य नहुने परिषद्को ठहर छ। साथै, यस घटनालाई कुनै सम्पूर्ण धर्म वा समुदायसँग जोडेर हेर्न नहुने र संविधानले दिएको धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलका नियम उल्लङ्घन गर्ने अधिकार नभएको बताइएको छ।

यस घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन तथा व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। स्पष्ट नियम हुँदाहुँदै त्यस्तो प्रवेश कसरी सम्भव भयो र घटनापछि तत्काल आवश्यक कारबाही किन गरिएन भन्ने विषयमा पशुपति क्षेत्र विकास कोषलगायत सम्बन्धित निकायले सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने माग गरिएको छ। मन्दिरको मर्यादा संरक्षणमा लापरबाही गर्नेमाथि कानुनबमोजिम कारबाही गर्न र धार्मिक आस्थामा ठेस पुग्ने किसिमका सामग्री प्रचारप्रसार नगर्नसमेत विभागले जोडदार आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस