वीरगन्ज–
वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको मुख्य गेटमा स्थानीयले मुआवजाको माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरेपछि सरकारको करोडौँ रुपैयाँ राजस्व जोखिममा परेको छ।
वीरगन्ज महानगरपालिका–२५ सिर्सियाका स्थानीयले नेपाल सरकारले अधिग्रहण गरेको जग्गा तथा त्यहाँ रहेका भौतिक संरचनाको मुआवजा र क्षतिपूर्ति माग गर्दै सोमबार बेलुकादेखि मुख्य गेटमै धर्ना दिएका हुन्।
नेपाल सरकारले २०७२ सालमा सिर्सियामा करिब ६२ बिघा जग्गा अधिग्रहण गरेको थियो। अधिग्रहणमा परेका लालपुर्जा भएका जग्गाको मुआवजा वितरण गरिए पनि स्ववासी जग्गा र त्यहाँ रहेका भौतिक संरचनाको मुआवजा वितरण नभएको भन्दै स्थानीय लामो समयदेखि आन्दोलनरत छन्।
मुआवजा संघर्ष समितिका अध्यक्ष ओमकार चौधरीले अधिग्रहणमा परेका स्ववासी जग्गा तथा भौतिक संरचनाको मूल्यांकन गरी मुआवजा वितरण गर्नुपर्ने माग रहेको बताउनुभयो। उहाँका अनुसार मुआवजाको माग गर्दै आएको १२ वर्ष बितिसक्दा पनि सरकारले समस्या समाधान नगरेकाले सम्झौताअनुसार मुआवजा र क्षतिपूर्ति नपाएसम्म आन्दोलन जारी रहनेछ।
वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि स्थानीय अन्तिम संघर्षमा उत्रिएको बताउनुभयो। अधिग्रहणमा परेको जग्गा बिक्री गर्न नपाएको र त्यसका आधारमा ऋणसमेत लिन नसकेको भन्दै उहाँले जग्गाधनीहरू आर्थिक समस्यामा परेको दाबी गर्नुभयो।
यता, वीरगन्ज भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले स्थानीयको मागप्रति भन्सार प्रशासन सकारात्मक रहेको बताउनुभयो। सरकारले गरेको सम्झौता कार्यान्वयन हुने भएकाले मुख्य गेटमै धर्ना नदिन उहाँले स्थानीयलाई आग्रह गर्नुभयो।
मुख्य गेटमा भएको अवरोध हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज भन्सार कार्यालयका अधिकारीबीच छलफल भइरहेको लम्सालले जानकारी दिनुभयो। उहाँले संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो।
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट दैनिक करिब २५० देखि ३०० वटा मालवाहक सवारीसाधन बाहिरिने गरेका छन्। मुलुकको राजस्वमा महत्वपूर्ण योगदान पुर्याउने वीरगन्ज भन्सार कार्यालयअन्तर्गतको सुख्खा बन्दरगाहको मुख्य गेटमा भएको अवरोध तत्काल नहटे दैनिक करोडौँ रुपैयाँ राजस्व प्रभावित हुन सक्ने भन्सारका कर्मचारीहरूको भनाइ छ।
तेस्रो मुलुकबाट समुद्री मार्ग हुँदै नेपालका लागि आयात हुने सामान भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत सिर्सिया सुख्खा बन्दरगाहमा ल्याइन्छ। औद्योगिक कच्चा पदार्थ, खाद्यान्नलगायत नेपालमा आयात हुने ठूलो परिमाणको मालवस्तु यही नाकाबाट विभिन्न स्थानमा पठाइने गरिएको छ।










