२०८३ आश्विन २५ गते, आईतवार १९:१०

कपनस्थित बाल उद्धार माविका प्रअमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौँ —

काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा महिला शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत असोज २२ गते बिहान १०:३४ बजे विद्यालयको प्रांगणमै उक्त घटना भएको थियो। दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र धाकधम्की दिएका थिए भने घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार गरिएको प्रहरीले जनाएको छ।

घटनापश्चात प्रहरी वृत्त बौद्धको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस