बीरगन्ज—
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले बीरगन्जबाट वाणिज्य बैंकहरूले कमाउने नाफाको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषको रकम यहीँकै समाजमा खर्च गर्न आग्रह गरेका छन्।
बुधबार साँझ बीरगन्जस्थित कन्ट्री इन होटलको सभाकक्षमा आयोजित ‘क’ वर्गका बैंकका प्रदेश तथा शाखा प्रमुखहरूसँगको छलफलमा सांसद पन्तले यस्तो आग्रह गरेका हुन्।
चुनावी घरदैलोका क्रममा साना प्रयास र खर्चबाट पनि ठूलो सकारात्मक परिणाम ल्याउन सकिने धेरै सामाजिक आवश्यकताहरू देखिएको बताउँदै पन्तले भने, “जनप्रतिनिधिसँग त्यस्ता कामहरू सञ्चालन गर्न छुट्टै कोष वा स्रोत नहुने भएकाले स्थानीय तहका विकास र कल्याणकारी कार्यमा बैंकहरूले हातेमालो गर्नुपर्छ।”
छलफलका क्रममा बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्य लगायत विभिन्न बैंकका प्रदेश तथा शाखा प्रमुखहरूले CSR कोषको रकम तोकिएका प्राथमिकताका क्षेत्रहरूमा सहकार्य गर्दै वीरगञ्जकै सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार निश्चित मापदण्ड पुगेका ठूला उद्योग तथा कर्पोरेट संस्थाहरूले आफ्नो वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम CSR कोषमा छुट्ट्याएर सामाजिक, वातावरणीय वा विकासमूलक कार्यमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ।
कृष्ण पासवानले सहजीकरण गरेको उक्त छलफलमा नेपाल एसबिआई, सानिमा, सिद्धार्थ, नेपाल इन्भेस्टमेण्ट मेगा, कुमारी, ग्लोबल आइएमई, प्राइम, हिमालयन, नबिल, एनएमबि, लक्ष्मी सनराइज, सिटिजन्स, एभरेष्ट, प्रभु र एनआईसी एसिया बैंकका प्रदेश तथा शाखा प्रमुखहरूको उपस्थिति थियो।
त्यसैगरी कार्यक्रममा रास्वपा क्षेत्रीय सभापति तेज शमशेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिस प्रजापति, महमादिन आलम र सम्साद आलमको पनि उपस्थिति रहेको थियो।











