२०८३ कार्तिक २७ गते, शुक्रबार ०:२५

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी आज कैदमुक्त हुँदै

काठमाडौं –

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज कैदमुक्त हुँदै छन्। ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्राप्त गरेसँगै उनी डिल्लीबजार कारागारबाट रिहा हुन लागेका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा दोषी ठहर भएका रायमाझीले तीन वर्ष छ महिना कैद भुक्तान गरिसकेका छन्। उनी २०८० वैशाख ३१ गतेदेखि थुनामा थिए।

रायमाझीले ज्येष्ठ नागरिकका लागि कानुनले व्यवस्था गरेको कैद छुटको सुविधा माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। उनी गत कात्तिक २६ गते ६५ वर्ष पुगेका हुन्। अदालतले उनको उमेरका आधारमा कैद छुट दिने निर्णय गर्दै आजै थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशसहितको पत्र डिल्लीबजार कारागार पुगिसकेको छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई कसुर र उमेरअनुसार कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार गत कात्तिक १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले रायमाझीलाई कैद छुटको सुविधा प्रदान गर्ने निर्णय गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले २०८३ असार ३० गते रायमाझीलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो। उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो।

एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानासमेत निर्धारण गरिएको थियो। कैद छुटको सुविधा पाए पनि अदालतले तोकेको जरिबाना भने उनले तिर्नुपर्नेछ।

राजनीतिक पहुँच र सत्ताको आडमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरिएको चर्चित प्रकरणमा दोषी ठहर भएका रायमाझीको रिहाइले पुनः यो प्रकरणलाई राजनीतिक तथा सार्वजनिक बहसमा ल्याउने देखिएको छ।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस