वीरगन्ज –
देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै नेपाल भित्रिने खाद्यान्नको आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज नाकाबाट हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले घटेको हो।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँमा झरेको छ।
धान आयातमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। धान आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर चालु आर्थिक वर्षमा ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, मकै आयात पनि ठूलो परिमाणमा घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ। मकै आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ।












