२०८३ कार्तिक २७ गते, शुक्रबार ०:२५

महँगी र आवास संकटले युरोपमा जनविद्रोहको संकेत, स्पेनमा लाखौँ सडकमा

काठमाडौं –

बढ्दो महँगी, चर्को घरभाडा, आवास अभाव र कमजोर सार्वजनिक सेवाविरुद्ध युरोपका विभिन्न देशमा जनआक्रोश चुलिँदै गएको छ। यही असन्तुष्टि स्पेनमा आमहड्ताल र बृहत् सडक प्रदर्शनका रूपमा विस्फोट भएको छ। राजधानी मड्रिडदेखि बार्सिलोनासम्म हजारौँ श्रमिक र सर्वसाधारण सडकमा उत्रिएपछि देशको जनजीवन प्रभावित बनेको छ।

भारी वर्षा र प्रतिकूल मौसमको बेवास्ता गर्दै बुधबार साँझ मड्रिडमा मात्रै करिब एक लाख २० हजार मानिस प्रदर्शनमा सहभागी भएका छन्। ‘तलब, आवास र मूल्य’ भन्ने नारासहित आयोजित आमहड्तालमा श्रमिकहरूले बढ्दो जीवनयापन खर्च, चर्को घरभाडा र आवास संकटको विरोध गरेका हुन्। बार्सिलोनामा पनि करिब ५५ हजार मानिस सडकमा उत्रिएका थिए।

प्रदर्शनकारीहरूले ‘बाँचौँ, केवल जीवित मात्र नरहौँ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए। उनीहरूको मुख्य माग आम्दानीअनुसार धान्न सकिने घरभाडा, सर्वसुलभ आवास र जीवनयापनको बढ्दो लागत नियन्त्रण गर्न प्रभावकारी सरकारी हस्तक्षेप रहेको छ।

अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि बार्सिलोनामा केही युवा समूहले मुख्य व्यापारिक सडकका पसलका सिसा फुटाउनुका साथै फोहोर फाल्ने डब्बामा आगजनी गरेका थिए। उनीहरूले प्रहरीमाथि पटाका प्रहारसमेत गरेका थिए। मड्रिडको मेर्कामाड्रिड थोक बजारअगाडि प्रदर्शनकारीमाथि प्रहरीले पेपर स्प्रे प्रयोग गरेको थियो। घटनामा कम्तीमा १३ जनालाई उपचार आवश्यक परेको बताइएको छ।

आँधीबेहरी र प्रतिकूल मौसमका बाबजुद देशका विभिन्न भागमा बिहानैदेखि श्रमिकहरू हड्तालमा सहभागी भएका थिए। विमानस्थल तथा एयरलाइन्सका कर्मचारीसमेत आन्दोलनमा उत्रिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

आवास संकटले युवाको कमाइ नै घरभाडामा सकिँदै

स्पेनमा आवास संकट पछिल्लो समय गम्भीर सामाजिक र राजनीतिक मुद्दा बनेको छ। घरको मूल्य र भाडा निरन्तर बढ्दै जाँदा सामान्य आम्दानी भएका परिवार तथा युवाका लागि आवासको व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ।

स्पेनको केन्द्रीय बैंकका अनुसार देशमा अहिले करिब सात लाख ५० हजार घरको अभाव छ। यो अभाव सन् २०२८ सम्ममा १० लाखभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।

घर किन्न नसक्ने अवस्था बढ्दै जाँदा भाडामा बस्नेहरूको संख्या पनि बढिरहेको छ। स्पेनको युवा परिषद्का अनुसार औसत मासिक घरभाडा करिब एक हजार ३१५ अमेरिकी डलर पुगेको छ। यो रकम औसत युवाको मासिक कुल आम्दानीको करिब ९९ प्रतिशत हो। अर्थात्, एक औसत युवाले आफ्नो लगभग सम्पूर्ण कमाइ घरभाडामै खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

यस वर्षको सुरुमै मड्रिडमा ८७ वर्षीया म्यारीकार्मेन आबास्काललाई घरबाट निष्कासन गरिएपछि उनको निधन भएको घटनालाई समेत आवास संकटको प्रतीकका रूपमा लिइएको छ। घरबाट विस्थापित हुनुपर्ने अवस्थाले निम्त्याएको मानवीय पीडाले आन्दोलनलाई थप बल दिएको छ।

सरकारको आवास नीति विवादमा, विपक्षीको विरोध

वामपन्थी प्रधानमन्त्री पेड्रो साञ्चेज नेतृत्वको सरकारले भाडामा बस्ने नागरिकको समस्या समाधान गर्न आवाससम्बन्धी कानुन ल्याउने प्रयास गरेको थियो। तर, विपक्षी दलहरूले संसद्मा प्रस्तावित कानुन अघि बढ्न नदिएपछि सरकारको प्रयास अवरुद्ध भएको थियो।

आवश्यक संसदीय बहुमत जुटाउन नसकेपछि थप राजनीतिक समर्थन प्राप्त गर्ने उद्देश्यले साञ्चेजले नोभेम्बर २९ का लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्। यद्यपि, सरकारले संसद्बाट अस्वीकृत सुधारका उपायसँग मिल्दाजुल्दा दुईवटा विशेष अध्यादेश पारित गरेको छ।

मड्रिड टेनेन्ट्स युनियनकी प्रवक्ता आलिसिया डेल रियोले आवासलाई सीमित घरधनीको नाफा कमाउने माध्यम नभई नागरिकको आधारभूत आवश्यकताका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन्। उनले घरहरू मानिस बस्नका लागि हुनुपर्ने उल्लेख गर्दै आवास प्रणालीमा पूर्ण परिवर्तन नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन्।

रेल दुर्घटना र सार्वजनिक सेवाको अवस्था पनि आन्दोलनको मुद्दा

आवास र महँगीविरुद्धको आमहड्ताल यस्तो समयमा भएको छ, जतिबेला स्पेनमा सार्वजनिक सेवाको अवस्था र सरकारी व्यवस्थापनमाथि पनि प्रश्न उठिरहेको छ। यसै वर्ष भएका दुई ठूला घातक रेल दुर्घटनाको विरोधमा रेल कर्मचारीहरूले हड्ताल सुरु गरेको भोलिपल्ट देशव्यापी आमहड्ताल भएको हो।

जीर्ण रेल पूर्वाधार, सार्वजनिक यातायातको सुरक्षा र सरकारी सेवाको गुणस्तरसमेत आगामी संसदीय निर्वाचनका प्रमुख मुद्दा बनेका छन्।

स्पेन सरकारले बुधबारको हड्ताललाई समर्थन गर्दै यो कुनै दल वा व्यक्तिको विरोधमा नभई नागरिकको अधिकारको पक्षमा भएको जनाएको छ। तर, प्रधानमन्त्री साञ्चेजनिकट स्रोतहरूले आन्दोलनलाई विपक्षी दलहरूको नीतिविरुद्धको दबाबका रूपमा व्याख्या गरेका छन्।

विपक्षी कन्जर्भेटिभ पिपुल्स पार्टी (पीपी) का नेता अल्बर्टो नुनेज फिजोले भने सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। सरकारविरुद्ध नभई विपक्षी दलहरूविरुद्ध हड्ताल भएको हो भने त्यो अनौठो र अस्पष्ट कदम हुने उनको टिप्पणी छ।

हड्ताल आयोजकमध्ये एक प्रमुख ट्रेड युनियन यूजीटी र प्रधानमन्त्री साञ्चेजको समाजवादी पार्टी पीएसओई अलग-अलग संस्था हुन्। तर, दुवै संस्थाका संस्थापक पाब्लो इग्लेसियास पोसे एउटै व्यक्ति हुन्।

बढ्दो महँगी, आवासको अभाव, चर्को घरभाडा र सार्वजनिक सेवाप्रतिको असन्तुष्टिले स्पेनमा सडक आन्दोलन चर्किएको छ। यसले युरोपका अन्य देशमा समेत देखिँदै आएको जीवनयापनको बढ्दो लागत र आर्थिक असमानतासम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।

(स्रोत : डीडब्ल्यू)

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस