काठमाडौं –
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली काँग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गर्नुभएको छ ।
शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई-तीन पटक नेपाली काँग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताउनुभएको थियो । सोही बारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताउनु भयो ।

उहाँले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताउनु भयो । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उहाँको टिप्पणी थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी गर्नुभयो । महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिनुभयो ।
अध्यक्ष दाहालले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिइ ज्यान गुमाउनुभएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीको कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिनुभएकोमा उद्धव नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपालले अध्ययन÷अध्यापन र शैक्षिक सामग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको खुशी व्यक्त गर्नुभयो । उहाँले समाजमा पीडामा भएका, सेवा आवश्यक भएका सबैको अभिभावकत्व यथार्थमा राज्यले र सरकारले लिनुपर्ने भएपनि सरकार अहिले एकथोक भनेर अर्कै काम गरिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष दाहालले पीडामा भएकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताउनु भयो ।