वीरगन्ज –
मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार जोगाउन पार्टी सभापति गगन थापा विभिन्न दलका शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन्। सरकारलाई आवश्यक समर्थन जुटाउन सभापति थापा आफैँ सक्रिय भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
ती नेताका अनुसार मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन सभापति थापाले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतृत्वसँग संवाद गरिरहेका छन्।
सरकारमा सहभागी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई अनुकूल बनाउन सभापति थापा आफैँ सक्रिय भएका हुन्। सोही क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग विभिन्न माध्यमबाट छलफल गर्दै आएको स्रोतले जनाएको छ।
मधेस प्रदेश सरकारबाट बाहिरिएको एमालेलाई पुनः सरकारमा सहभागी गराउने प्रयाससँगै नयाँ राजनीतिक समीकरण निर्माणका लागि जसपा नेपाललगायत दलका नेताहरूसँग पनि छलफल भइरहेको छ। आज दिउँसो १२ बजेसम्म छलफललाई निष्कर्षमा पुर्याउने प्रयास भइरहेको स्रोतको दाबी छ।
एमाले वा जसपा नेपाललगायतका दल कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन तयार भए सरकारलाई निरन्तरता दिने, अन्यथा कांग्रेस प्रतिपक्षमा बस्ने रणनीतिसहित छलफल भइरहेको बताइएको छ। कांग्रेस आफ्नै राजनीतिक अडानमा सरकार सञ्चालन गर्नुपर्ने पक्षमा रहेको र त्यसमा सहमति नजुटे प्रतिपक्षमा बस्न तयार रहेको स्रोतको भनाइ छ।
यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजे (आज)प्रदेशसभा बैठक बोलाउन सभामुखमार्फत सूचना आह्वान गरेका छन्।
एमाले र जसपा नेपालका शीर्ष नेताहरूको अडान मुख्यमन्त्री पदमै केन्द्रित रहेकाले सत्ता समीकरणसम्बन्धी छलफल निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ। दुवै दलले मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्दै आएका छन्।
कांग्रेस नेतृत्वको सरकार कायम रहने वा नरहने विषयमा अहिले पनि ५०–५० प्रतिशत सम्भावना रहेको स्रोतको भनाइ छ। समर्थन जुटाउन नसके मुख्यमन्त्री यादवले आजै राजीनामा दिन सक्ने सम्भावनासमेत रहेको बताइएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएको अवस्थामा प्रदेश सरकारबाट बाहिरिँदा कांग्रेसलाई राजनीतिक लाभ हुन्छ वा नोक्सानी भन्ने विषयलाई समेत सूक्ष्म रूपमा विश्लेषण गरेर पार्टी नेतृत्व अघि बढिरहेको स्रोतले जनाएको छ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ गरी ६१ प्रदेशसभा सदस्यको समर्थन प्राप्त हुने सम्भावना रहेको स्रोतको दाबी छ।












