पर्सा –
वीरगन्जमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् । बैंकले आफ्नो घर बजार मूल्यभन्दा झन्डै डेढ गुणा कम मूल्यांकन गर्दै लिलाम गरेको आरोप लगाउँदै वीरगन्ज – ११ निवासी वविता सर्राफले आत्मदाहको प्रयास गरेकी हुन् ।
सर्राफले आफ्ना दुई छोरीसहित आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । यद्यपि प्रहरी र स्थानीयहरूको सहयोगमा उनको उद्धार गरिएको बुझिएको छ ।

सर्राफका अनुसार पर्साको पोखरीयास्थित लुम्बिनी विकास बैंकको शाखाले बजार मूल्यका आधारमा करिब डेढ करोड रुपैयाँ पर्ने वीरगन्ज महानगरपालिका – ११ रानीघाटस्थित घर र पोखरिया नगरपालिकामा रहेको जग्गा लिलामी प्रक्रियामार्फत मात्र ५० लाख रुपैयाँमा लिलाम गरेको छ ।
बैंकले मिलेमतोमा उक्त घर र जग्गा अत्यन्त कम मूल्यमा लिलाम गरेको सर्राफले दाबी गरेकी छन् । सर्राफले घर लिलामीका क्रममा आफ्नो श्रीमान् घरमा अनुपस्थित रहेको समय छानेको आरोप समेत लगाएकी छन् । उनले यस षडयन्त्रमा वीरगन्ज – ११ का वडाध्यक्ष अजय कुमार चौरसीयाको समेत संलग्नता रहेको आरोप लगाएकी छन् । सर्राफका अनुसार, लिलामीपश्चात् सतवरियाका रामराजले घरको सामान बाहिर फालेर आफ्नो ताल्चा लगाएको छन् ।
यस विषयमा जानकारी लिन खोज्दा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले आफूलाई केही जानकारी नभएको र वडा प्रहरी कार्यालय श्रीपुरसँग बुझ्न आग्रह गरे । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम कुमार बस्नेतले आफू अन्यत्र रहेको भन्दै पछि फोन गर्न आग्रह गरे ।