सुनसरी –
गाँजा ओसारपसारमा संलग्न समूह प्रहरी देखेपछि भाग्न खोज्दा सुनसरीमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुईवटा जिपमा लोड गरिएको करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो।
सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने समूहलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।
प्रहरीका अनुसार बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिप खानतलासी गर्दा आठवटा पोकामा प्याक गरेर राखिएको करिब २१० किलो गाँजा बरामद भएको थियो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल रहेका छन्।
प्रहरीका अनुसार यादव बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने शाह को.१ च ८१८२ नम्बरको जिपका चालक हुन्।
दुईवटा जिप प्रयोग गरेर ठूलो परिमाणमा गाँजा ओसारपसार गर्ने तयारी भइरहेको अवस्थामा पाँच जना पक्राउ परेपछि प्रहरीले यसमा संलग्न अन्य व्यक्ति तथा गाँजाको स्रोत र गन्तव्यबारे अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।











