काठमाडौं –
काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको विशेष टोली भारत पुगेको छ । प्रहरी स्रोतका अनुसार, प्रसाईं भारतको उत्तर प्रदेश पुगेको सूचना प्राप्त भएको र त्यहाँबाट उनी थप भागेको आशंका गरिएको छ । भारतीय प्रहरीसँगको समन्वयमा विशेष टोलीले त्यहाँ अनुसन्धान तीव्र पारेको छ ।
प्रहरीले प्रसाईंले प्रयोग गरेको स्कार्पियो गाडी इटहरीमा फेला पारेको छ । उक्त गाडीका चालक ईश्वर विक र मालिक मुकुन्द दाहाललाई पक्राउ गरिएको छ । दाहाल प्रसाईंका सहयोगी रहेको खुलेको छ । तीनकुने प्रदर्शनमा हिंसा र अराजकता मच्चिएपछि प्रसाईं त्यहाँबाट भागेका थिए ।
तीनकुनेको उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । घटनामा २० जना घाइते भएका थिए । प्रहरीले हिंसामा संलग्न रहेको आरोपमा ६७ जनाविरुद्ध मुद्दा दायर गरेको छ भने १६१ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रसाईंको खोजी र घटनाको अनुसन्धानलाई लिएर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । यो घटनाले देशभर तनाव बढाएको छ भने प्रसाईंको पक्राउ प्रहरीका लागि चुनौती बनेको छ ।