२०८२ कार्तिक १८ गते, मंगलवार १९:१८

बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो

रौतहट –

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सीन म्याद नाघेको भेटिएको छ ।

कार्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखी २३ महिना भित्रका बालबालिकाहरुको लागि दिन तयारी परिएको भ्याक्सीन म्याद नाघेको भेटिएको हो ।

चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सीन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हँुदैन उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सीन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीलको गल्ती भएको उनको जिकिर छ ।’

जापनिज इन्सेफ्लाइटिसको भ्याक्सीनको म्याद अंग्रेजी मिति अनुसार सन २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ । भ्याक्सीनको म्याद सकिएको चार दिन पछि दिन लागेको भन्दै  यसले बालबालिकाहरु गम्भीर असर पार्ने चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नवराज देबकोटाले बताए । यो विषय गम्भीर भएकाले कार्यपालिकाको बैठक राख्ने र दोषि कर्मचारीलाई  कारवाही गरिने उनले बताए ।

चन्द्रपुर , बृन्दावन, गरुडा र गुजरा नगरपालिका भित्रका बालबालिकाहरु खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले बताए ।

उनका अनुसार  प्रदेश कार्यालयबाट हालै आएको यो भ्याक्सीनको मिति २०२६ अप्रिलसम्म म्याद छ । तर चन्द्रपुर नगरपालिका ९ मा भेटिएको  म्याद नाघेको भ्याक्सीनको विषय गम्भीर रहेको उनको भनाइ छ ।  यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले बताए ।

पोडकास्ट सुन्नुहोस